काठमाडौं । ब्रिटिस काउन्सिलले ‘कनेक्सन थ्रु कल्चर’ (सिटिसि– संस्कृतिका माध्यमबाट संयोजन) अनुदान २०२५ आरम्भ भएको घोषणा गरेको छ । सीटीसीअन्तर्गत ब्रिटिस काउन्सिलले नेपाली कलाकारहरू, संस्कृतिकर्मीहरू र सिर्जनात्मक कार्यमा संलग्न संस्थाहरूलाई बेलायतका साझेदारहरूसँग सहकार्य गर्न अनुदानका लागि आवेदन दिन आह्वान गरेको हो ।
यस कार्यक्रमले नेपाल तथा अन्य देशका सिर्जनात्मक समुदायलाई जोड्ने परियोजनाहरूलाई १० हजार पाउन्ड स्टर्लिङ (करिब १८ लाख २० हजार नेपाली रुपैयाँ)सम्मको अनुदान दिनेछ । यो कार्यक्रमअन्तर्गत विभिन्न देशका कलाकर्मीहरूको संयुक्त कला कार्यशाला (ज्वाइन्ट रेसिडेन्सी), संयुक्त सिर्जनाहरूको प्रदर्शनी, मञ्चन, अनुसन्धान र डिजिटल कथा वाचनजस्ता परियोजनालगायतका त्यस्ता पहलहरूलाई सहयोग गरिने जनाइएको छ । यसको उद्देश्य आपसी समझदारी बढाउने, नवीन संवाद सुरु गर्ने र दीर्घकालीन अन्तर्राष्ट्रिय साझेदारीहरू निर्माण गर्ने हो ।
ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले यस कार्यक्रमले दुवै देशका कलाकर्मी र कलासम्बन्धी संस्थाहरूलाई साझा भविष्यको कल्पना गर्न सशक्त बनाउनले बताए । साझा सिर्जनात्मकता र आपसी सम्मानमार्फत, अन्तरदेशीय सार्थक साझेदारीको प्रभाव दीर्घकालीन हुने उनको दाबी छ । यो कार्यक्रमको सन् २०२५ संस्करणमा नेपालसहित बेलायत र एसिया–प्यासिफिक तथा युरोपका १९ साझेदार देशहरूबाट आवेदक खुला गरिएको छ । यस वर्ष ब्रिटिस काउन्सिलले विशेष गरी जलवायु परिवर्तन, विविधता तथा समावेशिता र कलामा समानताजस्ता विश्वव्यापी विषयहरूमा केन्द्रित कला कर्मलाई प्राथमिकता दिँदै करिब ९० परियोजनालाई अनुदान दिने लक्ष्य राखेको छ ।