काठमाडौं । हुवावे र सेरेसद्वारा संयुक्तरूपमा बनाइएको ठूलो साइजको रेन्ज–एक्सटेन्डेड क्रसओभर गाडी आईटो एम८ले चीनमा सार्वजनिक हुनुअघि नै एक लाख अर्डर प्राप्त गरेको छ । कम्पनीका अनुसार यसको प्रि–सेल मूल्य तीन लाख ६८ हजारदेखि चार लाख ५८ हजार युआनसम्मको रेन्जमा रहेको छ । अब यो गाडी चाँडै नै चिनियाँ बजारमा औपचारिकरूपमा प्रवेश गर्न लागेको कम्पनीले जनाएको छ । मार्च ६ मा चीनमा यसको प्रि–सेल सुरु गरिएको थियो । पाँच हजार युआनको अग्रिम रकम बुझाउने ग्राहकलाई गाडी सार्वजनिक भएपछि १० हजार युआन छुट दिइने योजना थियो । सार्वजनिक हुनुअघि नै यस गाडीले निकै आकर्षण पाएको हो । प्रि–सेल सुरु भएको एक घण्टामा नै सात हजार पाँच सय अर्डरहरू प्राप्त भएका थिए ।
छ घण्टाभित्र अर्डर संख्या २१ हजार पुग्यो भने १२ घण्टामा २८ हजार युनिट पुगेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रि–सेल सुरु भएको दुई साताभित्र यो संख्या ७० हजार पुगेको थियो । अप्रिल ७ सम्ममा यसले एक लाखभन्दा बढी अर्डर प्राप्त गरेको हो । ३२ दिनमा यस्तो उपलब्धि हासिल गर्नुले पनि यो गाडी सबैभन्दा बढी बिक्री हुने मोडेलमध्ये एक बन्ने निश्चितजस्तै देखिएको छ । यसको प्रमुख प्रतिस्पर्धीहरूमा लि अटो एल८ र डीपल एस ०९ पर्छन् ।
आईटो एम८ डिजाइन र स्पेसिफिकेसनको हिसाबले फ्ल्यागसिप मोडेल एम९सँग नजिक छ । यो एक ठूलो एसयुभी हो, जसको लम्बाइ/चौडाइ/उचाइ क्रमशः ५१९०-१९९९-१७९५ मिमि र ह्विलबेस ३१०५ मिमि रहेको छ । यसको छानामा लिडर सेन्सर, अगाडि एलईडी लाइट स्ट्रिपसहित ठूला हेडलाइट छन् । यो गाडी २१–इन्चका मल्टी–स्पोक रिममा कुद्छ । टिन्टेड रियर विन्डोज, रिट्रयाक्टेबल डुअर ह्यान्डलहरू र आकर्षक रङ विकल्पहरू यसका अन्य फिचरहरू हुन् । यसको क्याबिनमा दुई प्रकारको सिट व्यवस्था छ । साथै, यसमा ७५ इन्चको हुवावेको हेड अप डिस्प्ले र ठूलो तीनवटा स्क्रिन सेटअप छ ।
गाडीमा दुई मोटरयुक्त फोर ह्विल ड्राइभ प्रणाली छ, यसको पिक पावर तीन सय ९२ किलोवाट छ । गाडीमा एक सय पाँच लिटरको टर्बोचाज्र्ड रेञ्ज एक्सटेन्डर इन्जिन छ । ब्याट्री एलएफपी वा तिर्नरी एनएमसी प्रकारको हुन सक्छ, यसको क्षमता ३६ किलोहर्ज वा ५२ किलोहर्ज हुन्छ । सिएलटीसीका अनुसार गाडीको रेन्ज क्रमशः दुई सय एक किमि र तीन सय १० किमि रहेको छ । आईटो ब्रान्ड हुवावे र सेरेसबीचको सहकार्य हो । यो प्रोजेक्टमा सेरेसले च्यासिस डिजाइन र उत्पादनको जिम्मा लिएको छ भने हुवावेले गाडीको प्रविधिगत भाग, मुख्य कम्पोनेन्टको आपूर्ति र बिक्रीको काम सम्हालिरहेको छ । यस ब्रान्डका गाडीहरू हुवावेको हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी एलायन्स स्टोरहरूमा लक्सिड र स्टेलाटोजस्ता अन्य सहकार्य भएका ब्रान्डहरूसँगै बिक्रीमा रहेका छन् ।
यस ब्रान्डअन्तर्गत अहिले आईटो एम५, एम७ र एम ९ गरी तीनवटा क्रसओभर गाडी उपलब्ध छन् । चीन ईभी डाटा ट्«याकरका अनुसार यी मोडेलहरूको कुल बिक्री २०२४ मा तीन लाख ८५ हजार नौ सय चार युनिट पुगेको थियो ।