काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघंले होटल तथा पर्यटन क्षेत्रतर्फ आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै कर तिर्ने तारागाउँ रिजेन्सी होटललाई सम्मान गरेको छ । महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्षको पूर्वबजेट छलफलका क्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहाल र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्तरूपमा तारागाउँ रिजेन्सी होटललाई सम्मान–पत्र प्रदान गरेका हुन् । महासंघले गत चैत २८ मा सम्पन्न ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८१ को अवसरमा विभिन्न संस्थालाई सम्मान गर्ने निर्णय थियो । सो सम्मान आइतबार एक कार्यक्रम आयोजना गरी प्रदान गरिएको हो ।
महासघंले प्राविधिक समितिको सिफारिसका आधारमा महासंघको ५९ औँ वार्षिकोत्सवको अवसर विभिन्न क्षेत्रमा बढी कर तिर्ने संस्थाहरूलाई सम्मान गरेको हो । पर्यटन क्षेत्रमा सबैभन्दा धेरै करतिर्ने होटलका रूपमा यसअघि पनि होटलले विभिन्न सम्मान प्राप्त गरिसकेको छ । होटलले यसअघि आर्थिक वर्ष २०७१/७२, आव २०७३/७४, आव २०७४/७५, आव २०७५/७६ र आव २०७६/७७ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भइसकेको छ । होटललाई सरकारले पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा संकलन गरेबापत २०७६ मा सम्मानित गरेको थियो । कुल तीन सय तीन कोठाको नेपालकै सबैभन्दा ठूलो उक्त होटललाई आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो ।
नेपाली कला र शैली झल्काउने गरी तारागाउँ कल्चरल सेन्टरको अवधारणामा निर्माण गरिएको होटलले दुई दशकभन्दा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा हाइ इन्ड पर्यटकमार्फत महत्वपूर्ण योगदान पुर्याइरहेको छ । होटलले हाल करिब तीन सय २५ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको कर्पोरेट प्रेसिडेन्ट रानी ब्याङले बताइन् । १० वर्षे द्वन्द्व सुरु हुनुअघि परिकल्पना गरी निर्माण सुरु भएको होटल द्वन्द्व चरमोत्कर्षमा रहेको समय सन् २००० मा सफ्ट ओपनिङ गरी सञ्चालनमा आएको थियो ।