जेनेभा । संयुक्त राज्य अमेरिका र चीनले सोमबार ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट) कर नीतिमा भारी कटौती गर्ने सम्झौता गरेका छन् । दुई प्रमुख ठूला अर्थतन्त्रबीचको व्यापार युद्धका कारण विश्वको वित्तीय बजारलाई तहसनहस पारेको अवस्थामा यस्तो सहमति भएको हो ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुवै पक्षले ती शुल्कहरू एक सय १५ प्रतिशत विन्दुले घटाउन सहमत भएका छन् । यसको अर्थ अमेरिकामा आयात हुने चिनियाँ सामानमाथि ३० प्रतिशत कर लाग्ने र चीनमा आयात हुने अमेरिकी सामानमा १० प्रतिशत कर लगाइने छ । सहमतिले विश्वव्यापी आर्थिक मन्दीको डर बढाएको व्यापार युद्धलाई कम गर्ने अपेक्षा गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वव्यापी कर वृद्धिको घोषणा गरेपछि शनिबार र आइतबार भएको पहिलो वार्तापछि विश्वका दुई ठूला अर्थतन्त्रले संयुक्त वक्तव्य जारी गर्दै तीन अंकको करलाई दुई अंकमा झार्ने र वार्तालाई निरन्तरता दिने सहमति गरेका छन् ।
अमेरिकी अर्थमन्त्री बेसेन्टले चीनका उपप्रधानमन्त्री हे लिफेङ र अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि ली चेङगाङसँग सप्ताहान्तमा भएको वार्ता ‘स्वस्थ’ र ‘फलदायी’ भएको बताएका छन् । ‘दुवै पक्षले ठूलो सम्मान देखाएका छन्,’ बेसेन्टले सञ्चारकर्मीसँग भने ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना चीनका लागि आयातमा एक सय ४५ प्रतिशत कर लगाएका थिए भने अन्य मुलुकका लागि १० प्रतिशत कर लागू भएको घोषणा गरेका थिए ।
बदलामा बेइजिङले अमेरिकी सामानमा एक सय २५ प्रतिशत कर लगाएको छ । वक्तव्यमा दुवै पक्षले ‘आर्थिक र व्यापारिक सम्बन्धका बारेमा छलफल जारी राख्ने संयन्त्र स्थापना गर्न’ सहमति जनाएका छन् ।
चीनले वार्तामा भएको ‘उल्लेखनीय प्रगति’को प्रशंसा गरेको छ । ‘यो कदम दुई देश र विश्वको साझा हितमा छ’, चिनियाँ वाणिज्य मन्त्रालयले भनेको छ, ‘अमेरिकाले चीनसँग मिलेर एकतर्फी शुल्क वृद्धिको गलत अभ्यासलाई सच्याउने काम गरिरहने छ ।’