काठमाडौं । मधेश प्रदेशमा ‘डिजिटल मधेश कन्क्लेभ २०२५’ आयोजना हुने भएको छ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय, आईसीटी फाउन्डेसन नेपाल र क्यान महासंघ मधेश प्रदेशको सहकार्यमा महोत्तरीको बर्दिबासमा बुधबार कन्क्लेभ हुन लागेको हो ।
होटल नाभ्यामा सञ्चालन हुने कन्क्लेभमा मधेश प्रदेशको डिजिटल अवस्था, सम्भावना, अवसर र चुनौतीका विषयमा बृहत् छलफल र अन्तर्किया हुनेछ । कार्यक्रममा छ बढी सेसनमा ३० बढी विज्ञ वक्ताहरूको सहभागिता रहने आयोजक आईसीटी फाउन्डेसनले जानकारी दिएको छ । ‘फोस्टरिङ डिजिटलाइजेसन एन्ड डेभलपमेन्ट’ थिममा केन्द्रित कन्क्लेभमा तीन किनोट प्रस्तुतिसँगै छ बढी थिम्याटिक प्यानल सेसन हुनेछन् । मधेश प्रदेशमा केन्द्रित विभिन्न डिजिटल इनिसिएटिभ्स र डिजिटल रुपान्तरणका आइडियाको सोकेस र प्रस्तुति पनि रहने आयोजक समितिले जनाएको छ । यसको लागि कन्क्लेभको आधिकारिक वेबसाइटमार्फत डिजिटल सोलुसन/आइडियाको बारेमा जानकारी दर्ता गराउन सकिनेछ ।
डिजिटल मधेश कन्क्लेभ २०२५ मा डिजिटल पूर्वाधार, डिजिटल शिक्षा, एआई र डेटा सुरक्षा, स्टार्टअप र इन्निभेसन इकोसिस्टम, आईसीटी नीति, डिजिटल गभर्नेन्सलगायतका विषयमा विभिन्न प्रस्तुति र प्यानल छलफल सञ्चालन गरिने छ । आयोजक आईसीटी फाउन्डेसन नेपालले गत वैशाख ९ र १० गते सुर्खेतमा दुई दिने डिजिटल कर्णाली कन्क्लेभको आयोजना गरेको थियो । प्रादेशिक कन्क्लेभको रूपमा आयोजना भइरहेको यस कार्यक्रममा प्रदेश सरकारहरूको प्रत्यक्ष आयोजकको रूपमा सहभागिता रहेको छ । कन्क्लेभले आउँदै गरेको आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माणको लागि डिजिटल तथा आईसीटी क्षेत्रलाई प्राथमिकतामा राख्न पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।