नेतृत्व गलत मान्छेको हातमा पुग्यो भने के हुन्छ, के हुँदैन भन्ने नै हुँदोरहेनछ र जे पनि हुँदोरहेछ भन्ने कुराको पछिल्लो उदाहरण नेपाल प्रहरी बनेको छ । नेपाल प्रहरीको महानिरीक्षक रहेका सर्वेन्द्रनाथ खनाल कुरा गर्दा सुशासनकै कुरा गर्दछन् । तर, उनको व्यवहारमा सुशासन भेटिँदैन । उनी आफैं अन्तरमुखी स्वाभावका छन् र उनका काम पनि पारदर्शी छैनन् । मुखले जतिसुकै आदर्शका ठूला कुरा हाँके पनि शंकास्पद व्यक्तिहरूसँगको सम्बन्धले उनलाई आर्थिकरूपमा इमानदार भन्ने ठाउँ पनि छाडेको छैन ।
त्यसो त नेपाल प्रहरीका यसअघिका महानिरीक्षकहरूमध्ये केही त अहिले नै भष्टाचारको मुद्दामा जेलको कोठरीमा बन्दी जीवन बिताइरहेका छन् र उनलाई पनि त्यस्तै होस् भन्न पनि सकिँदैन । तर, जागीरबाट बिदा हुने दिन नजिकिँदै गएका आईजीपी खनालको क्रियाकलाप पनि पहिलेका आईजीपीभन्दा पनि अपारदर्शी र शंकास्पद दखिनुचाहिँ त्यति राम्रो संकेत होइन । कमसेकम उनले आफ्ना पूर्वजहरूलाई हेरेर सुधारिन सक्नुपर्छ । उनले त्यो मौकाको सदुपयोग समेत गर्न चाहेको देखिँदैन ।
उनीमाथि इन्काउन्टरको नाममा पटक–पटक व्यक्ति हत्या गरेको आरोप लागेको छ र त्यसमा राष्ट्रिय मानव अधिकार आयोगले उनीमाथि कारबाहीको लागि सरकारलाई सिफारिस नै गरिसकेको छ । त्यसबाट उम्कन जतिसुकै कोशिश गरे पनि अब सम्भव देखिँदैन । यसका अलावा उनले गरेको भष्टाचारमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । योसँगै गलत धन्दावालहरूसँग उनको सहकार्य र सम्बधका बारे पनि बेलाबखत समाचार प्रकाशमा आएका छन् र त्यसलाई पनि आईजीपी खनालले खण्डन गरेका छैनन् । सरल, स्पट र पारदर्शी हुन नसक्नु उनको बेइमानीको लक्षण हो । उनले अहिलेसम्म कति प्रहरीलाई काजमा खटाएका छन्, त्यो तथ्याङ्क आईजीपी खनाल सार्वजनिक गराउन चाहँदैनन् ।
सरुवा गरेको भोलिपल्टै आफ्नो गुडुबुकमा रहेका व्यक्तिलाई व्यवहार मिलाउने काममा आफैँ खटाउने गरेका छन् । त्यस्तो काज सरुवा पनि उनको नै हुँदोरहेछ । होइन भने विनासित्तिमा रहेछ । नत्र एकातिर दरबन्दी कायम भएर सरुवा गरिएको व्याक्तिलाई अर्कोतिर काजमा खटाइने पनि थिएन । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेको हो रहेछ । सामान खरिद र ठेक्कापट्टामा मात्र होइन मन मिलेकाहरूलाई व्यवहार मिलाउन काज सरुवा गर्दा कसैले प्रश्न पनि उठाउन सक्ने रहेनछन् । अरु प्रक्रियागतका कमिशनका कुरै भएनन् । अवकाशको दिन नजिक आइसक्दा पनि उनले काज सरुवा गरेपछि उनको नियतमाथि प्रश्न उठेको हो ।