वीरेन्द्रनगर (सुर्खेत) । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यहाँबाट प्रकाशन हुँदै आएको युगआह्वान राष्ट्रिय दैनिकको २५ औं रजतजयन्तीका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सरकारले स्वतन्त्र प्रेसमाथि हस्तक्षेप नगरेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल नियमन विधेयकमा समाजका केही वर्गले गलत अर्थ लगाएका बताए । प्रेस स्वतन्त्रताका नाममा अराजकता बढेको उल्लेख गर्दै उनले यसलाई नियन्त्रण गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए । कुनै पनि सञ्चारमाध्यमले जातीय सद्भावमा खलल गतिविधि गर्ननहुनेमा जोड दिंदै मन्त्री गुरुङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा तयारीको क्रममा रहेको उनले बताए ।
सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक शीघ्र पारित गरिने उनले बताए । अनलाइनका कारण साइबर क्राइम बढेको उल्लेख गर्दै उनले ४० हजारभन्दा बढी त्यससम्बन्धी उजुरी दर्ता भएको बताए । सामाजिक सञ्जाल प्रयोग र अभिव्यक्ति स्वतन्त्रताका नाममा समाजमा भ्रम फैलाउन कैसैलाई छुट नभएको मन्त्री गरुङको भनाइ थियो ।