गुल्मी । सरकारले भ्रष्टाचार विरुद्वको अभियान नचलाउँदासम्म देशमा सुशासन सम्भव नहुने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । प्रेस सेन्टर तम्घासमा मंगलबारदेखि सुरु हुन लागेको वाइसिएल नेपाल गुल्मीको चौथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न वरिष्ठ उपाध्यक्ष श्रेष्ठ मंगलबार बिहान यहाँ आइपुगेका हुन् ।
सो पत्रकार भेटघाटमा उनले वर्तमान अवस्थामा राष्ट्रिय एकता बलियो बनाउनु, लोकतन्त्रको रक्षा गर्नु, शान्ति प्रक्रियाको बाँकी काम पूरा गरेर देशमा सामाजिक र आर्थिक परिवर्तनको रूपान्तरण गर्नु प्रमुख काम भएको उल्लेख गरे । देशमा राजनीतिक अधिकार प्राप्त भए पनि नागरिकको जीवन फेर्ने गरी परिवर्तन हुनुपर्ने उनको भनाइ छ ।
प्रतिगामी शक्तिलाई चेतावनी दिँदै सुशासन र समृद्धिको दिशामा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । उनले देशमा सामाजिक एवं आर्थिक रूपान्तरण बिना विकास र समृद्धि प्राप्त हुन नसक्ने टिप्पणी गरे । “मिसन ८४ मा हामी एक्लै चुनाव लड्छौँ र सरकार बनाउछौँ, त्यही मिसन पूरा गर्न गाउँगाउँमा पुगेर अभियान सञ्चालन गर्न थालेका छौँ,” उनले भने ।