काठमाडौ । साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (साईम कलेज) र टोक्मा टेक्नोलोजिज प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौताले नेपालमा सीप विकास, अनुसन्धान र प्राविधिक नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
ललितपुरमा आयोजित एक विशेष समारोहका क्रममा साइम कलेजका प्राचार्य अशोकराज पाण्डे र टोक्मा टेक्नोलोजिजका निर्देशक सागर आङ्दाम्बेले आ–आफ्नो संस्थाका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त हस्ताक्षर कार्यक्रममा साइम कलेजका कार्यक्रम निर्देशक सुमन्त गुरुङ पनि साक्षीका रूपमा उपस्थित थिए । यो सम्झौताअनुसार, विद्यार्थीका लागि इन्डस्ट्रीसँग सम्बन्धित इन्टर्नसिप, संयुक्त अनुसन्धान परियोजना, पाठ्यक्रम सुदृढीकरण, कार्यशाला, विशेषज्ञद्वारा सञ्चालित सत्र, ह्याकाथन तथा नवप्रवर्तन चुनौतीहरू आयोजना गरिनेछ, यसले विद्यार्थीलाई व्यावहारिक ज्ञानमा दक्ष बनाउनेछ ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघका उपाध्यक्ष चिरञ्जीवी अधिकारीले साइम कलेज र टोक्मा टेक्नोलोजिजको यो सहकार्यले नेपालका युवाहरूलाई उद्योगमै काम गर्न सक्ने क्षमतासहित तयार गर्ने बताए । साइम कलेजका प्राचार्य अशोकराज पाण्डेले यो समझदारी विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्ने र भविष्यको डिजिटल अर्थतन्त्रमा प्रतिस्पर्धी बनाउने दिशामा महत्वपूर्ण पाइला भएको उल्लेख गरे । सम्झौता तीन वर्षका लागि प्रभावकारी हुने र परस्पर सहमतिमा विस्तार गर्न सकिनेछ ।
यस सम्झदारीले दुवै पक्षका जिम्मेवारीहरू तोकेको छ । साइम कलेजले इन्टर्नसिप र प्रोजेक्टका लागि विद्यार्थी सिफारिस गर्ने, आवश्यक शैक्षिक सहयोग तथा पूर्वाधार उपलब्ध गराउने र संयुक्त परियोजनाका लागि संकायसँग समन्वय गर्नेछ । त्यसैगरी, टोक्मा टेक्नोलोजिजले इन्टर्नसिप र अनुसन्धान परियोजनाको अवसर प्रदान गर्ने, विद्यार्थी तथा संकायलाई उद्योगसम्बन्धी मार्गदर्शन र विशेषज्ञ सत्रहरू सञ्चालन गर्ने, तथा पाठ्यक्रम समिक्षामा सहभागी भई संयुक्त कार्यक्रम आयोजना गर्नेछ ।
दुवै संस्थाले यो सहकार्यले अनुसन्धान प्रवर्द्धन, उद्यमशीलता विकास र विद्यार्थीलाई रोजगारीको लागि सक्षम बनाउने विश्वास व्यक्त गरेका छन् । यस सहकार्यले नेपालका शैक्षिक संस्था र प्राविधिक उद्योगबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।