बेलायत । बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा मन्दीका थप संकेत देखाएको छ । हालै सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार तलब वृद्धिको दर केही घटेको, बेरोजगारीमा सामान्य वृद्धि देखिएको र रोजगार अवसरहरू पनि घट्दै गएका छन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस)का अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा रोजगारी दर ७५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा थोरै उच्च हो । यद्यपि, बेरोजगारी दर भने अघिल्लो वर्षको तुलनामा केही बढेको देखिएको छ ।
फेब्रुअरीदेखि मार्च महिनाको अवधिमा कम्पनीहरूको तलब सूचीमा रहेका कर्मचारी संख्या ४७ हजारले घटेको छ भने प्रारम्भिक अनुमानअनुसार अप्रिल महिनामा थप ३३ हजारले कमी आउने सम्भावना देखिएको छ ।
तलब वृद्धिदर पनि केही मन्द भएको देखिएको छ । बोनसबाहेकको औसत साप्ताहिक आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढेको छ, जुन अघिल्लो त्रैमासिकको पाँच दशमलव नौ प्रतिशतभन्दा केही कम हो । बोनससहितको कुल तलब साढे पाँच प्रतिशतले बढेको देखिएको छ । मुद्रास्फीतिसँग समायोजन गर्दा वास्तविक तलब वृद्धिदर एक दशमलव आठ प्रतिशत छ ।
अर्कोतर्फ रोजगारको अवसर पनि घट्दै गएका छन् । अहिले कुल रोजगारीको अवसर सात लाख ६१ हजार पुगेको छ, जुन महामारीपूर्वको स्तरभन्दा थोरै कम हो । आर्थिक विश्लेषकहरूले श्रम बजारमा देखिएको मन्दी पछाडि उच्च तलब कर र हालै गरिएको न्यूनतम तलब वृद्धिलाई मुख्य कारणका रूपमा औंल्याएका छन् । खुद्रा तथा आतिथ्य सेवाका क्षेत्रहरूमा विशेष गरी मार्च र अप्रिल महिनामा रोजगारीमा कटौती देखिएको छ ।