काभ्रेपलाञ्चोक । ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र पाँचखाल नगरपालिकाका २६ परिवारले प्राप्त गरेका छन् । जग्गा नापीका बेला अर्काका नाममा दर्ता भएपछि वास्तविक जग्गाधनीले पूर्जा पाएका थिएनन् ।
चन्द्रध्वज खाँडका नाममा साविक देवभूमि बालुवा गाविसको करिब ६५ रोपनी जग्गा भूलवश नापी भएकाले स्थानीय जग्गावालाले जग्गाधनी पूर्जा बनाउन सकेका थिएनन् । “आफ्नो नाममा जग्गा ल्याउन ३५ वर्षसम्म कुर्नुपर्यो”, स्थानीय रामबहादुर दनुवारले भने । उनले नगरप्रमुख महेश खरेलबाट १४ आना दुई पैसा क्षेत्रफल जग्गाको पूर्जा लिएका हुन् ।
नगरप्रमुख खरेलले छब्बीस परिवारलाई पूर्जा वितरण गरेका हुन् । खाँडका नाममा दर्ता उक्त जग्गामध्ये हाल करिब २७ रोपनी जग्गाको पूर्जा बनाई वितरण गरिएको उनले बताए । “पहिलो चरणमा बनेको पूर्जा २६ जना जग्गाधनीलाई वितरण गरियो, अब पूर्जा बन्न बाँकी जग्गाको जिल्ला मालपोत कार्यालयमा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ”, उनले भने ।