काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये १४ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बाँकी छमध्ये तीनवटाले बढाएका छन् भने तीनवटाले घटाएका छन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र कुमारी बैंकले अघिल्लो महिनाको तुलनामा ब्याजदर घटाएका छन् । मेगा बैंकले जेठका लागि पाँच दशमलव पाँच प्रतिशत, सिद्धार्थ बैंकले पाँच दशमलव ७५ प्रतिशत र कुमारी बैंकले पाँच दशमलव ९१ प्रतिशत ब्याजदर तोकेको छ । वैशाख महिनामा यी तीन बैंकको ब्यादर क्रमशः छ दशमलव पाँच प्रतिशत, छ प्रतिशत र पाँच दशमलव ९२ प्रतिशत थियो ।
सानिमा बैंक, एभरेष्ट बैंक र नेपाल बैंकले वैशाख महिनाको तुलनामा जेठमा ब्याजदर केही बढाएका छन् । जेठ महिनाका लागि सानिमा बैंकले छ दशमलव ३३ प्रतिशत, एभरेष्ट बैंकले छ दशमलव ६४ प्रतिशत र नेपाल बैंकले चार प्रतिशत ब्याजदर तोकेका छन् । वैशाख महिनामा यी बैंकहरूको ब्याजदर क्रमशः पाँच दशमलव ९५ प्रतिशत, छ दशमलव ६१ प्रतिशत र पाँच दशमलव १५ प्रतिशत थियो ।
यीबाहेक सबै बैंकले जेठ महिनाको लागि वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । नबिल बैंकले जेठ महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याज पाँच दशमलव ७५ प्रतिशत तोकेको छ । वैशाख महिनामा पनि नबिलले व्यक्तिगत मुद्दती निक्षेपमा पाँच दशमलव ७५ प्रतिशत नै ब्याज दिएको थियो । माछापुच्छ्रे र एनआईसी एसिया बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फ जेठ महिनाको लागि वैशाख महिनाकै ब्याजदरलाई निरन्तता दिएका छन् । माछापुच्छ्रे बैंकले छ प्रतिशत र एनआईसी एसियाले छ दशमलव छ प्रतिशत ब्याज तोकेका छन् ।
एनएमबी, ग्लोबल आईएमई र सिटिजन्स बैंक इन्टरनेसनलले पनि जेठ महिनाको लागि वैशाखकै ब्याजदरदलाई निरन्तरता दिएका छन् । एनमबीले छ दशमलव छ प्रतिशत, ग्लोबल आईएमईले छ प्रतिशत र सिटिजन्सले पाँच दशमलव ६५ प्रतिशत तोकेको छ । कृषि विकास बैंकले पनि जेठ महिनाको लागि वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिँदै पाँच दशमलव ५१ प्रतिशत ब्याजदर कायम गरेको छ । वैशाख महिनामा पनि यो बैंकको ब्याजदर सोही अनुपातमा थियो ।
प्राइम कमर्सियल बैंकले पनि व्यक्तिगत निक्षेपतर्फ जेठ महिनाको लागि वैशाख महिनाकै ब्याजलाई निरन्तरता दिएको छ । सोअनुसार प्राइमले जेठ महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर छ दशमलव २५ प्रतिशत तोकेको छ । नेपाल एसबीआई बैंकले पनि जेठ महिनाको लागि वैशाख महिनाकै ब्याजदरलाई निरन्तता दिएको छ । सोअनुसार यो बैंकको वैशाख महिनाको ब्याजदर पाँच दशमलव पाँच ब्याज तोकेको छ । लक्ष्मी सनराइज बैंकले पनि जेठ महिनाको लागि वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिँदै पाँच दशमलव ७५ प्रतिशत ब्याजदर तोकेको छ । हिमालयन बैंकले पनि जेठ महिनाको लागि पाँच दशमलव पाँच प्रतिशत ब्याज तोकेको ।
जेठ महिनाको लागि प्रभु, स्टान्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकले पनि वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सोअनुसार यी बैंकहरूको वैशाख महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर क्रमशः छ दशमलव एक, छ दशमलव २५ र छ प्रतिशत तोकेका छन् ।