काठमाडौं । पूर्वी क्षेत्रका उद्योगी व्यवसायीहरूले सिमानाकामा भइरहेको बढ्दो तस्करी, चोरी पैठारी तथा अवैध कारोबार रोक्न सरकारसँग आग्रह गरेका छन् । खुला सीमाको सुरक्षा नीति फितलो रहेकै कारण तस्करी तथा चोरीपैठारीले आश्रय पाएको उल्लेख गर्दै उनीहरूले गृहमन्त्री रमेश लेखकलाई नाकामा कडाइ गर्न ध्यानाकर्षण गराएका छन् । मोरङ उद्योग व्यापार संघको कार्यालयमा मंगलबार गृहमन्त्री लेखकसँग भएको छलफलमा संघका अध्यक्ष अनुपम राठीले नेपालमा हाल भइरहेको बढ्दो तस्करी, चोरी पैठारी तथा अवैध कारोबारले राष्ट्रको आर्थिक, सामाजिक र सुरक्षात्मक संरचनामा गम्भीर असर पुगिरहेको बताए । गैरकानुनी अवैध गतिविधिका कारण सरकारले राजस्व संकलनमा ठूलो घाटा व्यहोर्नुका साथै स्वदेशी उद्योग एवं उत्पादनहरूको प्रतिस्पर्धात्मक क्षमता घटेको तथा मुलुकको उत्पादनशील क्षेत्र, उत्पादकत्व र रोजगारी नराम्ररी प्रभावित भएको उनले बताए । त्यसबाट मुलुकको अर्थतन्त्रमा ठूलो आर्थिक क्षति भइरहेको र दीर्घकालीन चुनौती खडा भएको उनको भनाइ थियो ।
खुला सीमाको सुरक्षा नीति फितलो रहेकै कारण तस्करी तथा चोरी पैठारीले आश्रय पाएको उल्लेख गर्दै उनले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीको सक्रियता, प्रविधिमैत्री निगरानी प्रणाली र नीतिगत सुधारको आवश्यकता औँल्याए । अवैध गतिविधिको नियन्त्रणका लागि गृह मन्त्रालयबाटै सशक्त कदम चाल्नुपर्ने उनको सुझाव छ । अध्यक्ष राठीले मुलुकमा अवैध कारोबार रोक्न केन्द्रीय र स्थानीय सरकारबीच समन्वयात्मक भूमिकाको खाँचो रहेको समेत औँल्याए ।
अध्यक्ष राठीले सीमावर्ती बजारहरूमा कतिपय दैनिक उपभोग्य वस्तु, लत्ताकपडालगायतका अत्यावश्यकीय वस्तुहरूको मूल्य स्वदेशी बजारको भन्दा सस्तो पर्ने गरेकाले प्रत्येक दिन हजारौँ नेपाली उपभोक्ता भारतीय बजार जाने, दैनिक अरबौँ नेपाली रुपैयाँको अवैध कारोबार हुने तथा गैरकानुनीरूपमा नेपाली मुद्रा विदेशिने र वर्षेनि खर्बौँ रकमको राजस्व घाटा हुने गरेको जानकारी दिए । सोको नियन्त्रणका लागि सरकारले तत्कालै त्यस्ता वस्तुहरूको माग र आपूर्ति शृङ्खलाको विस्तृत अध्ययन गर्नुपर्ने उनको भनाइ छ । विशेषगरी भारतीय बजारमा शून्यदेखि १२ प्रतिशतसम्म जीएसटी कायम रहेका दैनिक उपभोग्य तथा अत्यावश्यकीय वस्तुहरूको आयात शुल्क तथा करका दरहरू न्यून गर्न सरकारका सम्बन्धित निकाय समक्ष पहल गरिदिन समेत उनले गृहमन्त्रीलाई आग्रह गरे ।
नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका अध्यक्ष पवन कुमार सारडाले अवैध कारोबारका कारण सरकारी संयन्त्रमा भ्रष्टाचार मौलाउने, कानुनी शासन कमजोर हुने जोखिम रहेको उल्लेख गरे । साथै, उनले तस्कर संयन्त्र मौलाए मुलुकमा लागुपदार्थ, हतियार, मानव तस्करीलगायत अवैध सामग्रीहरू समेत भित्रिने भई राष्ट्रिय सुरक्षामै चुनौती उत्पन्न हुने बताए । त्यस्तै, ती अवैध क्रियाकलापहरूमा संलग्न व्यक्तिहरूबाट मुलुकमा आर्थिक हानि हुनुका अलावा समाजमा अपराधिक गतिविधि बढ्ने उल्लेख गरे । युवा पुस्तामा नैतिक पतन छाउनेलगायत विभिन्न सामाजिक विकृतिहरू निम्तिने जोखिम रहेकाले त्यस तर्फको निगरानी र कानुनी कारबाही पनि कडाइका साथ बढाउन उनले आग्रह गरे ।