काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवका अवसरमा बुधबार बिहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्राधिकरणद्वारा आयोजित प्रभातफेरी र्याली बीमासम्बन्धी विभिन्न जानकारीमूलक सन्देशहरू अङ्कित प्लेकार्ड तथा ब्यानरहरू प्रदर्शन गर्दै भद्रकालीदेखि सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बीमा क्षेत्रको विश्वसनियता बढ्ने गरी जिम्मेवारीपूर्वक इमान्दारीका साथ काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए । अध्यक्ष ओझाले भने, ‘बीमा व्यवसायको हालसम्मको अवधिको समीक्षा गर्नु आवश्यक छ, जोखिम हस्तान्तरण गरेर वित्तीय सुरक्षण गर्न सकिन्छ भनेर आम नागरिकलाई आश्वस्त पार्नुपर्छ, दाबी भुक्तानीलगायतमा देखिएका कमी कमजोरीहरूलाई घटाउँदै शून्यमा झार्नुपर्छ ।’ बीमाप्रतिको विश्वसनियता अभिवृद्धि, सेवामा सुधार, नवीनतम् प्रविधि अवलम्बन र पहुँच वृद्धिको प्रक्षेपणसहितको वार्षिक कार्यक्रम ल्याउन बीमा कम्पनीलाई निर्देशन दिँदै अध्यक्ष ओझाले भने, ‘बीमा कम्पनीहरू सरकारबाट बीमा गर्नेपर्ने गरी गरिएका बाध्यकारी क्षेत्रबाट बाहिर निस्कनुपर्छ, नयाँनयाँ क्षेत्रमा जानुपर्छ, समग्र बीमा क्षेत्रको विकास एवं विस्तारमा आवश्यक सहयोग गर्न प्राधिकरण तयार छ ।’
अध्यक्ष ओझाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम सर्वसाधारणसम्म लाभ पुग्ने गरी उपयोग गर्न समेत बीमा कम्पनीहरूलाई निर्देशन दिए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा कम्पनीहरूले बीमा व्यवसाय मात्र नभई सेवा पनि हो भन्ने भावनाले काम गर्नुपर्ने र बीमा व्यवसायलाई थप मर्यादित एवं व्यवस्थित बनाउँदै अघि बढ्नुपर्ने बताए ।
त्यस अवसरमा प्राधिकरणका अध्यक्ष ओझाले प्राधिकरणको ५७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित ब्याडमिन्टन तथा फुटसल प्रतियोगिताका विजेताहरूलाई प्रमाणपत्र, पदक तथा ट्रफी प्रदान गरेका थिए । प्रभातफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक तथा कर्मचारीहरू, नेपाल बिमक संघ, नेपाल जीवन बिमक संघ, नेपाल लघुबिमक संघ, नेपाल बीमा सर्भेयर संघ, पेशागत बीमा अभिकर्ता संघ र नेपाल इन्स्योरेन्स ब्रोकर संघका अध्यक्ष तथा पदाधिकारीहरू र बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत कर्मचारीहरूको सहभागिता रहेको थियो ।