मुस्ताङ । जिल्लाको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ ।
चार करोड ४६ लाखमा गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले बहुवर्षीय ठेक्का लगाएर निर्माण प्रारम्भ गरेको हो ।
उक्त कार्यालयका सूचना अधिकारी घनश्याम मगरका अनुसार २०८३ साउन अन्त्यसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने छ । दुवैतर्फ दुई दशमलव चार मिटर पैदलमार्गसहित पुल ३५ मिटर लामो र आठ दशमलव चार मिटर चौडा हुनेछ । हालसम्म भौतिक ४५ र वित्तीय प्रगति ३७ प्रतिशत भएको छ ।
यसैबीच, घरपझोङ गाउँपालिकाको थाक पाँच गाउँअन्तर्गत जोमसोम, ठिनी, ढुम्बा, स्याङ, छैरो–चिमाङ र मार्फा जोड्ने १० दशमलव पाँच किलोमिटर सडक प्रदेश सरकारले स्तरोन्नति गरिरहेको छ ।