काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले धोका दिएपछि एमालेका केपी ओलीसँग कांग्रेसका शेरबहादुर देउवाले सत्ता साझेदारीको सातबुँदे सहमति गरेको एक वर्ष पुग्न नपाउँदै दुई साझेदारबीच शीतयुद्ध सुरु भएको छ । क्याबिनेट सिस्टममा प्रधानमन्त्री सर्वेसर्वा हुने परम्परालाई पन्छाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘फ्रि ह्यान्ड’ काम गर्न अवरोध गरेर ‘खोपीको देउता’ बनाउने प्रयास सुरु भएको छ ।
प्रधानमन्त्रीको दिनगन्ती सुरु, पछिल्लो समय सरकार ढल्यो, आजै ढल्यो, भोलि ढल्छ भनेर हल्ला फैलाइएको छ । दुई तिहाइ समर्थनप्राप्त सरकार कसरी ढल्छ भन्ने कसैले खाका प्रस्तुत गरेका छैनन् तर प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सरकार ढल्न लागेको हल्लाको खेती गर्दै आएको छ । माओवादी अध्यक्ष प्रचण्डले नै त्यसको नेतृत्व गर्दै आएका छन् । कांग्रेसको एउटा तप्कासँग माओवादीको लोली मिल्दै गएको देखिएको छ । खासगरी उक्त समूह सुनमा जोडिएको चर्चा चल्दै आएको छ । स्वयम् प्रधानमन्त्री ओलीले पनि १४ महिनापछि सत्ता छोड्ने अभिव्यक्ति दिएर आफ्नो दिनगन्ती आफैँ गर्दै आएका छन् ।
उच्चस्तरीय राजनीतिक संयन्त्रमा खटपट
दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता साझेदारी गरेपछि सरकार सञ्चालन गर्न सजिलो बनाउन गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रमा खटपट सुरु भएपछि कांग्रेसका प्रतिनिधि पूर्णबहादुर खड्का र गगन थापाले संयन्त्रको बैठकमा उपस्थिति जनाउन छाडेर बाहिर सरकारविरोधी अभिव्यक्ति दिन थालेका छन् र समर्थक बढाउन खोजेका छन् ।
प्रधानमन्त्रीको निर्देशनको अवज्ञा !
सत्ता साझेदारी धेरै टिक्दैन भन्ने सन्देश बाहिरिएपछि प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरूलाई दिने गरेको निर्देशन अवज्ञा हुन थालेको छ र मन्त्री सचिवको साझेदारीमा चलखेल हुन थालेको छ । सार्वजनिक खपतका लागि जस्तोसुकै भाषण गरे पनि स्वास्थ्य मन्त्री प्रदीप पोडेलले फायल पाल्ने गरेको, भूमि सुधार मन्त्री बलराम अधिकारीले सरुवामा बदमासी गरेको, पर्यटन मन्त्री बद्री पाण्डेले विदेश गएर फर्किएका नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई एयरपोर्टतिरै भेट्न गएर गोप्य वार्ता गरेको, सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले अदालतको अवज्ञाकारी सूचीमा रहनुपर्ने व्यक्तिलाई च्यापेको घटना कसैबाट छिपेका छैनन् । प्रधानमन्त्री ओलीले त्यस्ता कुकृत्य गर्न कसैलाई निर्देशन दिएका पक्कै थिएनन् । प्रधानमन्त्री ओलीका निर्देशनविपरीत भएका उदाहरणस्वरूपमा यी घटना सतहमा आएका हुन् ।
परराष्ट्र मामिलामा द्वैध नीति
अहिले गठबन्धन सरकारको परराष्ट्र मामिलामा द्वैध नीति सुरु भएको छ । परराष्ट्र मन्त्री आरजु राणाले परराष्ट्र नीतिमा सन्तुलन मिलाउन नसकेपछि प्रधानमन्त्री ओली झनै अप्ठ्यारोमा परेका छन् र आफ्नो बाटो समाउन थालेका छन् ।
प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको समानान्तर एनआरएन
अदालतको परमादेशपछि गरिएको भनिएको एनआरएनएको एकता महाधिवेशनको नाममा वैधानिकता प्रदान गरेर परराष्ट्र मन्त्री राणाले आफ्नो हित रक्षा गरेपछि प्रधानमन्त्री ओलीको आशीर्वाद पाएर यसअघि निर्वाचन जितेको बद्री केसी पक्ष आफ्नो अडानबाट टसको मस भएको छैन । परराष्ट्र मन्त्री राणाले माओवादी पक्षसँग हातेमालो गरेर आफ्नो हितरक्षा गर्न खोजेको आरोप लागेको छ । एनआरएनका नाममा दुवै पक्षले आ–आफ्नो दुनो सोझ्याउन खोजेपछि त्यसको छाया सत्ता साझेदारीमा पनि देखिन थालेको हो ।
नयाँ राजनीतिक धु्रवीकरणको सुरुवात
पछिल्लो समय सत्ता साझेदार कांग्रेस र एमालेका नाममा नयाँ राजनीतिक धु्रवीकरण सुरु भएको छ । एमालेप्रति माकुने समूह नरम हुन थालेको छ र राप्रपाले आफ्नो ठाउँ खोज्न थालेको छ । रवि लामिछानेको (रास्वपा) पनि भित्री संवादमा रहेको बुझिएको छ भने, माओवादीले दुवैतिर खुट्टा उचालेको बताइएको छ । सत्ता साझेदार दुई दल कांग्रेस र एमाले दुई धु्रवतर्फ लम्किएका छन् र साना दलहरूले त्यसमा आफ्नो आश्रयस्थल खोज्न थालेका छन् । अहिले सत्तामा जान नपाएमा आगामी निर्वाचनमा अस्तित्व जोगाउनुपर्ने भएकाले माओवादीलगायतका साना दल दुईमध्ये एकतिर टाँसिने बाटो खोज्न लागेका छन् ।
सुरक्षा निकायमा द्वैध सत्ता
सत्ता गठबन्धनमा सुरु भएको खटपटको लक्षण बाहिरिएसँगै सुरक्षा निकायमा द्वैध सत्ता बाध्यता थोपरिएको छ र प्रधानमन्त्रीको आदेश टेर्ने कि गृहमन्त्रीको आदेश मान्ने भन्ने समस्या देखिएको छ । यही चेपुवामा परेपछि नेपाल प्रहरीका एक उच्च अधिकारी प्रधानमन्त्रीले तपाईँलाई पक्राउ गर्नू भनेर भनेको भनी सुनकाण्डमा वर्षमान पुनलाई सूचना दिन पुगेको कुरा अहिले एक तहसम्म चर्चामा छ । सत्ता गठबन्धनमा समस्या देखिएपछि सुरक्षा निकायमा पनि छाया परेकोले त्यसको प्रत्यक्ष असर सेवामा पर्दै गएको छ ।
जाँदाजाँदै जगन्नाथ
सत्ता गठबन्धनमा समस्या देखिन थालेपछि सत्ता छाड्नुपर्ने भएकाले आफ्नो हात जगन्नाथ गर्ने प्रवृत्ति बढ्दै गएको छ । अर्को पटकको मौका नदेख्नेले अन्तिम पटक ठानेर जे पायो त्यही गर्ने बाटो खोज्न थालेका छन् ।