काठमाडौं, नेपाल राष्ट्र बैंकमा खाली रहेको गभर्नर नियुक्तिका सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री समेत रहेकी उनकी पत्नी आरजू राणाको छुट्टाछुट्टै उम्मेदवार भनी नाम सार्वजनिक भएपछि राजनीतिक वृत्तमा आश्चर्य प्रकट गर्न थालिएको छ ।
गभर्नर पद कांग्रेसको भागमा परेपछि सभापति देउवाले रवीन्द्रप्रसाद पाण्डेको नाम प्रस्ताव गरेका थिए, त्यतिबेला परराष्ट्र मन्त्री राणाको तर्फबाट राजेन्द्रकिशोर क्षेत्रीको नाम सार्वजनिक भएको थियो । अदालतले ६५ वर्षे उमेरहद लगाइएको घटनालाई सदर गरेपछि उनीहरू दुवै जनाका नियुक्तिको सम्भावना टरेको थियो र त्यसपछि सभापति देउवाले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नाम प्रस्ताव गरेको बताइएको छ ।
तर उनको नाममा झमेला गरेर राजीनामा नै स्वीकृत हुन नदिएपछि अहिले देउवापत्नी राणाले सञ्चालन गरेको युलेन्स इन्टरनेसनल स्कुलको साझेदार डा. विश्व पौडेलको नाम अघि सारिएको छ । यसरी देउवा दम्पतीले गभर्नरका लागि छुट्टाछुट्टै नाम सिफारिस गर्नुलाई राजनीतिकरूपमा राम्रो सङ्केत मानिएको छैन । गभर्नर नियुक्तिका बारेमा देखिएको यो घटनाले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठबीच चल्दै आएको आन्तरिक संघर्षलाई पुनः स्मरण गराएको छ ।