काठमाडौं । वाणिज्य बैंकहरूको निष्क्रिय (खराब) कर्जा पाँच प्रतिशत नाघेको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४९ खर्ब दुई अर्ब ६२ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव शून्य पाँच प्रतिशत अर्थात् दुई खर्ब ४७ अर्ब ५८ करोड २३ लाख ६० हजार पाँच सय रुपैयाँ निष्क्रिय कर्जा देखिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव १६ प्रतिशत अर्थात् ७१ अर्ब ५८ करोड ५५ लाख ३४ हजार पाँच रुपैयाँले बढी हो ।
गत वर्ष तेस्रो त्रैमासमा बैंकहरूले ४५ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ८९ प्रतिशत अर्थात् एक खर्ब ७५ अर्ब ९९ करोड ६८ लाख २६ हजार रुपैयाँ निष्क्रिय कर्जा थियो । यस आर्थिक वर्षको तेस्रो त्रैमासमा निष्क्रिय कर्जा नबिल बैंकको एक दशमलव ५९ प्रतिशत, ग्लोबल आईएमई बैंकको चार दशमलव ९८ प्रतिशत, एभरेस्ट बैंकको शून्य दशमलव ६४ प्रतिशत र नेपाल बैंकको पाँच दशमलव ४४ प्रतिशत छ । गत अर्थिक वर्षको तेस्रो त्रैमासमा नबिलको एक दशमलव २७ प्रतिशत, ग्लोबलको एक दशमलव ७० प्रतिशत, एभरेस्टको शून्य दशमलव ७० प्रतिशत र नेपाल बैंकको चार दशमलव ८५ प्रतिशत निष्क्रिय कर्जा थियो ।
सिटिजन्स, हिमालयन, नेपाल एसबिआई र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा भने पछिल्लो समय क्रमशः पाँच दशमलव ७१, सात दशमलव ६८, चार दशमलव शून्य छ र एक दशमलव ५३ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव ७६, चार दशमलव ९६, एक दशमलव ९८ र एक दशमलव १२ प्रतिशत थियो ।
यसैगरी लक्ष्मी सनराइज, कुमारी, प्राइम र एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा क्रमशः पाँच दशमलव ८६, छ दशमलव ९६, पाँच दशमलव ६५ र पाँच दशमलव ७५ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः पाँच दशमलव ४९, चार दशमलव ९५, चार दशमलव २९ र तीन दशमलव शून्य आठ प्रतिशत थियो । सानिमा, प्रभु र सिद्धार्थ बैंकको निष्क्रिय कर्जा क्रमशः तीन दशमलव ४२, पाँच दशमलव शून्य नौ र चार दशमलव चार प्रतिशत छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः एक दशमलव ८९, चार दशमलव ८१ र दुई दशमलव ५२ प्रतिशत थियो । कृषि विकास, स्ट्यान्डर्ड चार्टर्ड र एनएमबी बैंकमा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा क्रमशः चार दशमलव ९८, एक दशमलव ४४ र चार दशमलव ४७ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूमा क्रमशः तीन दशमलव ३०, दुई दशमलव १४ र दुई दशमलव ८६ प्रतिशत निष्क्रिय कर्जा थियो । राष्ट्रिय वाणिज्य बैंक र माछापुच्छ«े बैंकको निष्क्रिय कर्जा क्रमशः चार दशमलव ६९ र चार दशमलव ५९ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा क्रमशः चार दशमलव ३० र तीन दशमलव ६८ प्रतिशत थियो ।