विराटनगर । सुनसरी, मोरङ, विराटनगर–रानी, विराटनगर–कटहरी औद्योगिक करिडोरमा नियमित विद्युत् आपूर्ति गर्न उद्योगी व्यवसायीले माग गरेका छन् ।
पूर्वी कोरिडोरमा हाल दैनिक ८ देखि १० घण्टासम्म विद्युत् आपूर्ति बन्द हुुन थालेपछि उद्योग संगठन मोरङले नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको हो । संगठनले विनासूचना भइरहेको विद्युत् कटौतीले उद्योग व्यवसायको नियमित सञ्चालनमा व्यवधान सिर्जना भएको जनाएको छ । विद्युत् कटौतीले गर्दा उद्योगले उत्पादन समेत कटौती गर्न बाध्य हुँदा दैनिक करौडौँको आर्थिक नोक्सानी व्यर्होर्नु परिरहेको भन्दै संगठनले विद्युत् प्राधिकरणलाई संवेदनशील हुन आग्रह गरेको छ । हरेक वर्ष सुख्खायाममा विद्युत् आपूर्ति कमी भई उद्योग व्यवसायमा अवरोध हुँदै आएको तथ्य र तथ्याङ्कसहित संगठनले बारम्बार ध्यानाकर्षण गराउँदा समेत दीर्घकालीन समाधानका लागि नियामक निकायबाट कुनै ठोस योजना नआएको जनाएको छ ।
उद्योग व्यवसायको समस्यालाई गम्भीरतापूर्वक नलिने प्रवृत्तिले प्राधिकरण निजी क्षेत्रको प्रताडनाबाट संवेदनशील नभएको अनुभूति भएको संगठनका अध्यक्ष राकेश सुरानाले बताए । प्राधिकरणको नयाँ नेतृत्व विद्युत्को नियमित आपूर्ति र गुणस्तर सुधारमा केन्द्रित हुने अपेक्षा लिए पनि त्यसतर्फ प्राधिकरणले खासै चासो नदेखाई नाफा र नोक्सानीमा मात्रै केन्द्रित हुन थालेको अध्यक्ष सुरानाको भनाइ छ । उनले सुख्खायाममा एकातर्फ विद्युत् महसुल बढी लिने र अर्कातर्फ विद्युत् निरन्तर आपूर्ति समेत नगरिदिनाले उद्योग व्यवसाय दोहोरो मारमा परेको बताए । उद्योग व्यवसाय क्षेत्रले सुख्खायाममा निरन्तर विद्युत् आपूर्तिको अभाव व्यहोर्नुपरेको उनको गुनासो छ ।
यसबाट समग्र औद्योगिक क्षेत्रको मूल्य शृंखलामा परेको नकारात्मक प्रभावलाई गम्भीरतापूर्वक लिई विद्युत् आपूर्तिको समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्नका साथै नियमित आपूर्तिको व्यवस्था गर्न प्राधिकरणसँग संगठनले माग पनि गरेको छ ।