काठमाडौँ । नेपाल वायुसेवा निगमको अन्तरराष्ट्रिय स्टेशनहरूको दुईदिने समीक्षा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको कुल गार्हस्थ्य उत्पादनको प्रमुख आधार रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजावाहक अपरिहार्य रहेको बताए । उनले राष्ट्रिय ध्वजावाहकलाई सवल तथा सक्षम बनाउन थप जहाज प्राप्ति र व्यवस्थापकीय सुधार सँगसँगै लैजानुपर्ने धारणा राखे ।
आपतविपद्का समयमा नेपालको हवाई भाडामा हुने अस्वाभाविक कार्टेलिङ रोक्न निगमको हस्तक्षेपकारी उपस्थिति अत्यावश्यक रहेको र आन्तरिक तथा अन्तरराष्ट्रिय क्षेत्रमा उडान गर्न निगमलाई थप जहाज आवश्यक पर्ने बताउँदै पर्यटनमन्त्री पाण्डेले सोका लागि मन्त्रालयस्तरबाट सकारात्मक सहयोग हुने धारणा राखे ।
निगममा थप जहाज प्राप्तिका लागि जहाज लिज प्रक्रिया अगाडि बढाइएको जानकारी दिंदै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको अन्तरराष्ट्रिय स्टेशनहरूमा खटिएर जाने कर्मचारीहरू निगमको मात्र नभई समग्र देशको समेत प्रतिनिधित्व गर्ने भएकाले इमान्दारितापूर्वक निगम र राष्ट्रको अधिकतम हित हुनेगरी कार्य गर्न आग्रह गरे ।
उनले सातवटै प्रदेश सरकारको सहकार्यमा दुर्गम क्षेत्रमा उडान गर्ने जहाज खरिदका निमित्त पहल भइरहेको तथा गण्डकी प्रदेश सरकारसँग संयुक्त कार्यदल गठन गरी प्रक्रिया अगाडि बढाउने सहमति भएको पनि जानकारी दिए ।