चितवन । भरतपुर महानगरपालिका–२५ किसान चोक नजिक घर भएका एक व्यक्तिले शुक्रबार धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरेर आफूलेसमेत आत्महत्याको प्रयास गरेका छन् । ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहार गरी भतिजो र आफ्नै छोरीको हत्या गरेका हुन् ।
उनले दुई जनालाई आक्रमण गरेपछि आफूले आत्महत्याको प्रयास गरेका थिए । बिहान विद्यालय जाने तयारी गरेका बालबालिकालाई उनले आक्रमण गरेका हुन् । गिरीले आफ्नै सात वर्षीया छोरी प्रभा गिरी र दाजु दया गिरीका पाँच वर्षीय छोरा सजन गिरीलाई खुर्पा प्रहार गरेपश्चात् उनले खुर्पा आफैंमाथि प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।
तीनै जनालाई घटनालगत्तै उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकामा दुई बालबालिकाको मृत्यु भएको र गिरीको अवस्था गम्भीर रहेको उनले बताए । निज गिरी पूर्वसैनिक रहेको र मानसिक सन्तुलन ठीक नभएका अवस्थामा घटना गराएको प्रारम्भिक रुपमा बुझिएको पुरीले जानकारी दिए । उक्त घटना शुक्रबार बिहान ९ः४५ बजेको समयमा भएको हो ।