काठमाडौं । स्किल सेवाले घर निर्माणसम्बन्धी एक दिवसीय निःशुल्क प्राविधिक परामर्शसहित भिआर प्रविधि प्रदर्शन गर्ने भएको छ । आगामी शनिबार रोयल रिसोर्ट होटलमा प्राविधिक परामर्श सेवा प्रदान गरिने भएको हो ।
घर निर्माण मात्र नभई समस्यारहित, दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्ने बारेमा विशेष परामर्श सेवा दिइने कम्पनीले जनाएको छ । परामर्शको लागि स्किल सेवाको प्रमुख कार्यालयबाट संस्थापन समूह नै इटहरीमा हुनेछन् । इटहरीमा बनेको प्रायः नयाँ घरहरूमा नै सिपेज, लिकेज र क्र्याकजस्ता समस्याहरू बढी देखिएकाले इटहरी जिल्लामा यस कार्यक्रम आयोजना गरिएको इटहरी शाखा प्रबन्धक सुगन्ध मिश्रले बताए । पछिल्लो समय घर निर्माण गर्नु हाम्रो सपना, मान सम्मान, प्रतिष्ठा र शौखको विषय बनेको कम्पनीका इटहरी शाखा प्रबन्धक सुगन्ध मिश्रले बताए ।
जीवनभरको मेहनतको कमाईले घर निर्माण गरिने र घर निर्माण सम्पन्न भएको पाँच महिना नबित्दै घरमा सिपेज, भित्ता चर्कने, पेन्ट उप्कनेजस्ता विविध समस्या देखिने गरेका छन् । यस्ता विषयवस्तुको बारेमा विस्तृत प्राविधिक परामर्श सेवा दिनका लागि घरको डाक्टर उपनामले परिचित यस कम्पनीले परामर्श कार्यक्रम गर्न लागेको हो । घर निर्माण गर्ने योजना भएका वा घर निर्माण गरिरहेको वर्ग परामर्श सेवाबाट फाइदा लिन सक्ने छन् । घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरू, घर निर्माण गर्दा हामीबाट हुने कमी कमजोरी एवं प्रक्रियागत त्रुटिको बारेमा ध्यान नदिँदा विभिन्न किसिमका जोखिमहरू आउने गरेका छन् ।
जग्गा छनौट, नक्सा पास, निर्माण कार्यको जिम्मा, निर्माण सामग्री छनौट, निर्माण सामग्रीको गुणस्तर आदि जस्ता सामान्य तर संवेदनशील कुरामा ध्यान दिनु आवश्यक हुने कम्पनीले जनाएको छ । कम्पनीले समस्यारहित घर निर्माणका लागि यस्ता निःशुल्क परामर्शहरू दिने गरेको छ । कम्पनीले ४५ हजार भन्दा बढी घरहरूको चेकजाँच गरिसकेको समेत व्यवस्थापक प्रशान्त प्रधान बताउँछन् ।