क्यानबेरा । करिब ९० हजार मानिसले काम खोजेर पनि अप्रिलमा अस्ट्रेलियाको बेरोजगारी दर स्थिर रहेको जनाइएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस)ले बिहीबार जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार अप्रिलमा दोस्रो लगातार महिनाका लागि आधिकारिक बेरोजगारी दर चार दशमलव एक प्रतिशत कायम छ ।
एबीएसले मार्च र अप्रिलको बीचमा कार्यरत अस्ट्रेलियालीहरूको संख्या ८९ हजारले वृद्धि भएको र सोही अवधिमा बेरोजगारहरूको संख्या छ हजारले वृद्धि भएको बताएको छ ।
काम पाएका ८९ हजार मानिसमध्ये ६५ हजार महिला थिए । महिला रोजगारी वृद्धि मुख्यतया पूर्ण–समय काम पाउने खालको थियो । यो ४२ हजारले बढेको थियो ।
एबीएसको तथ्याङ्कअनुसार पछिल्लो १२ महिनामा रोजगारीमा तीन लाख ९० हजार अर्थात् दुई दशमलव सात प्रतिशतले वृद्धि भएको छ । यो १५ वर्ष वा सोभन्दा बढी उमेरका दुई दशमलव एक प्रतिशतको जनसंख्या वृद्धि दरभन्दा बढी हो ।
रोजगार–जनसंख्या अनुपात मार्चमा ६४ दशमलव एक प्रतिशतबाट बढेर अप्रिलमा ६४ दशमलव चार प्रतिशत पुगेको छ । यो जनवरीमा सेट गरिएको ६४ दशमलव पाँच प्रतिशतको रेकर्डभन्दा थोरै हो ।
काम गर्ने उमेरको जनसंख्याको अनुपात मापन गर्ने वा कार्यरत रहेका वा सक्रियरूपमा काम खोजिरहेका सहभागिता दर मार्च र अप्रिलको बीचमा ६६ दशमलव आठ प्रतिशतबाट बढेर ६७ दशमलव एक प्रतिशत भयो ।
‘३५–४४ वर्ष उमेर समूहका लागि सहभागिता दर सबैभन्दा ठूलो वार्षिक वृद्धि थियो, यो एक दशमलव नौ प्रतिशत विन्दुले बढेर ८८ दशमलव तीन प्रतिशत भयो’, एबीएसका श्रम तथ्यांख्या प्रमुख सीन क्रिकले भने । रासस/सिन्ह्वा