काठमाडौं । अर्थ मन्त्रालयका अधिकारीहरूले थाहा भएर पनि भन्सारमा भेइकल स्क्यानर नराखेर संगठितरूपमा तस्करी गराउँदै आएको खुलेको छ । नेपालमा सानातिना गरेर ४१ वटा भन्सार रहेको छन् र त्यसलाई नियमन गर्न भन्सार विभागको व्यवस्था गरिएको छ । ती भन्सारहरूमध्ये सबैभन्दा बढी कारोबार हुने चल्तीको भन्सारहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, वीरगन्ज भन्सार, विराटनगरका रानी भन्सार, भैरहवा भन्सार, तातोपानी भन्सार, केरुङ भन्सार नै प्रमुख रहेका छन् । यसका अलावा नेपालगन्जको रुपेडिया भन्सार कैलालीको गड्डा चौकी, झापाको मेची भन्सार, काकडभिट्टा भन्सार पनि चलनचल्तीकै भन्सार मानिन्छन् ।
देशभर ४१ वटा भन्सार छोटी भन्सार भए पनि बढी तस्करी हुनेचाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, वीरगन्ज भन्सार, भैरहवा भन्सार, विराटनगरको रानी भन्सार नै प्रमुख मानिन्छन् । तीमध्ये पनि कुख्यात सिरियल किलर चाल्स सोभराजले परीआयो भने त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट हात्ती नै छिराइदिन्छु भन्ने अभिव्यक्ति दिएर चर्चित बनाएको काठमाडौंको एयरपोर्ट नेपालमा तस्करीको मुख्य नाका मानिन्छ । यो नाकामा एउटा भेइकल स्क्यानर राख्ने हो भने त्यहाँबाट हुने तस्करी रोकिने कुरा अर्थ मन्त्रालयका अधिकारीहरू र भन्सार विभागका अधिकारीहरूलाई राम्ररी थाहा छ । त्यसको मूल्य पनि त्यति धेरै छैन, लगभग १० करोड रुपैयाँ मात्र छ ।
सधैँ सुन र लागुऔषधलगायत अवैध वस्तुहरूको तस्करी भएर आलोचना खेपिरहनु परेको भन्सारमा उक्त स्क्यानर राख्दा समस्या समाधान हुने देख्दादेख्दै पनि त्यसतर्फ चासो नदिनुले भन्सारबाट हुने तस्करीमा संगठित संलग्न रहेको हुनसक्नेतर्फ सङ्केत गरेको छ ।त्यस्तै एउटा स्क्यानर वीरगन्ज भन्सारमा राखिएको छ तर कर्मचारी टे«ड युनियनको अवरोधका कारण त्यसलाई सञ्चालन गरिएको छैन, चल्न दिइएको छैन र तस्करीलाई निर्बाध गराइएको छ । एयरपोर्टमा दुईवटा ह्युमन स्क्यानर छन् र त्यसलाई आफूअनुकूल चलाइएको छ भने ब्यागेज स्क्यानर पनि अस्तित्वमा छ तर त्यसको विश्वसनीयता कम रहेको छ । अवस्था हेरेर सेटिङ हुने भएकाले त्यसको विश्वासनीयता कम हुँदै गएको छ ।
यी सबै स्क्यानरले स्क्यान गरिसकेपछि अन्तिम गौँडोमा भेइकल स्क्यानर राख्ने हो भने त्यहाँबाट तस्करीका सामान उम्कनै पाउने छैनन् र तस्करी निकै कम हुन्छ । लगभग रोकिने अवस्था छ तर सरकार त्यसतर्फ ध्यान दिन चाहिरहेको छैन । त्यस्तो व्यवस्था गर्नेबित्तिकै अतिरिक्त आम्दानीको बाटो बन्द हुने भएकै कारण त्यसलाई राख्न आवश्यक नठान्ने हो कि भन्ने प्रश्न पनि उठेको छ । पञ्चायतकालदेखि अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय, तस्करीको केन्द्र बन्दै आएको छ र तस्करले नेपाललाई ट्रान्जिट बनाएर उक्त भन्सारको प्रयोग गर्दै आएको कसैबाट छिपेको छैन ।
नेपाल वायुसेवा निगमका कर्मचारीले विमानको रनवेको ग्राउन्डमा सुन खसालेर तस्करी गरेको घटना सार्वजनिक भइसकेको छ । सुरक्षा निकायमा रहेका प्रहरीहरू अधिकारीहरूले नै तस्करीको सामान ओसारपोसार गराउने गरेका घटना पनि बेलाबखत सार्वजनिक भएकै हुन् । नेपाल प्रहरीको एउटा डीएसपी बलको अधिकारी पनि विमानस्थलको गाडी लिएर धावनमार्गसम्म पुग्ने गर्दछ । त्यसरी निर्बाध आवतजावतको सुविधा दिनु भनेको तस्करीको सामानको सुटकेस लुकाएर बोक्नु नै हो भन्ने पनि सबैले बुझेका छन् तर एउटा भेइकल स्क्यानर राखेर त्यसलाई स्क्यान गर्ने चासोचाहिँ कसैले देखाएका छैनन् ।