काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले हङकङमा वर्किङ भिसा खुला गर्न सरकारले कूटनीतिक पहल गर्ने बताएका छन् ।
गैरआवासीय नेपाली संघकी महिला सचिव राधिका (टीका) गुरुङको नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उनले हङकङले सन् २००५ देखि रोक लगाएको वर्किङ र घरेलु कामदार भिसा पुनः खुलाउन सरकारीस्तरबाटै कूटनीतिक पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । सरकारले नयाँ–नयाँ श्रम गन्तव्यको खोजी गरिरहेको बेला हङकङ पनि एक आकर्षक गन्तव्य हुने उनले बताए । ‘यसअघि हामीले लगातार पहल गरेकै कारण सीपमा आधारित भिसा खुला भएको छ’, उनले भने, ‘बिस्तारै वर्किङ र घरेलु महिला कामदारका लागि पनि भिसा खोल्ने भन्ने विषयमा हङकङसँग मात्रै कुरा गरेरभन्दा पनि बेइजिङसँग पनि कूटनीतिक पहल अघि बढाउनु आवश्यक छ, त्यसका लागि सरकार पनि सचेत छ ।’
यसअघि सन् २०२४ को जुलाईबाट हङकङले दक्ष कामदारलाई सीपमा आधारित भिसा खुला गरेको थियो । भेटमा महिला सचिव गुरुङले एनआरएन हङकङले पटक–पटक वर्किङ भिसा खुला गर्नका लागि कूटनीतिक पहल गर्न सरकारसँग अनुरोध गर्दै आएको स्मरण गराइन् । उनका अनुसार हाल हङकङमा ३० हजारको हाराहारीमा नेपालीहरू रहेका छन् । हावापानीदेखि सुरक्षा र तलबको हिसाबले पनि नेपाली युवाहरूका लागि हङकङ रोजगारीको आकर्षक गन्तव्य मुलुक भएकाले त्यहाँ भिसा खुलाउन तत्काल कूटनीतिक पहल गर्नुपर्नेमा उनले जोड दिइन् ।
हङकङमा घरेलु महिला कामदारको माग अत्यधिक रहे पनि भिसा नपाउँदा गैरकानुनी र अवैधानिक बाटोबाट महिलाहरू जाने गरेको सचिव गुरुङले बताइन् । यसलाई समयमै रोक्न नसके भोलि ठूलो समस्या भोग्नुपर्नेतर्फ उनले सचेत गराइन् ।
यसैबीच उक्त भेटमा प्रतिनिधिमण्डलले लामो समयदेखि रसियामा पुनः श्रम स्वीकृति बन्द रहेकाले यसलाई पुनरावलोकनका लागि अनुरोध गरेका थिए । जवाफमा मन्त्री भण्डारीले रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आफू सकारात्मक रहेकाले कहाँ के भएर रोकिरहेको हो भन्ने बुझेर खुलाउन पुनः आवश्यक पहल गर्ने बताए ।