दोलखा । भीमेश्वर नगरपालिकाले चालू आर्थिक वर्षको वैशाखसम्म ५४ दशमलव ३९ प्रतिशत खर्च गरेको छ । यस्तै, सो अवधिमा चालुतर्फ भने ६२ दशमलव ९४ प्रतिशत खर्च भएको छ ।
नगरपालिकाले शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरी आर्थिक वर्ष २०८१/०८२ को वैशाखसम्म सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको जानकारी गराएको हो । नगरपालिकाले चालू आवको लागि ८८ करोड नौ लाख ८४ हजार बजेट ल्याएको थियो । यसमा कुल बजेटको ५९ दशलमव ५१ प्रतिशत खर्च भइसकेको नगरपालिकाले जनाएको छ । चालु आवमा कुल तीन सय ३० वटा योजना वितरण गरेको नगरपालिकाले हालसम्म दुई सय ८२ वटा योजना सम्पन्न गरेको छ । यस्तै, नगरले चार करोड रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशकसेन ढकालले जानकारी दिए ।
नगरपालिकाका सबै शाखा प्रमुखले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिवेदनका आधारमा एवं नगरपालिकाको सेवाको विषयमा सवाल जवाफ भएको थियो । सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले नगरपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए । नगरले नेपाल पत्रकार महासङ्घ दोलखा शाखाको सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको थियो ।