दोलखा । बामपन्थी नेता स्व पशुपति चौलागाईंको स्मृतिमा दोस्रो जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता शनिवारदेखि सुरु भएको छ ।
पशुपति चौलागाईँ फाउन्डेसनको आयोजनामा भएको प्रतियोगिताको नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री पार्वत गुरुङले उद्घाटन गरेका थिए । कोरोना भाइरस संक्रमणका कारण २०७८ साल वैशाख २८ गते चौलागाईंको निधन भएको थियो । बैतेश्वर गाउँपालिकाको मैनापोखरीस्थित देउराली खेल मैदानमा सुरु भएको प्रतियोगितामा जिल्लाभरबाट ११ वटा टिम सहभागी छन् ।
प्रतियोगितामा पहिलो दिन उद्घाटन खेल आयोजक टिम मैनापोखरी र बैतेश्वर गाउँपालिकाबीचको भएको थियो । उक्त प्रतियोगिता जेठ ५ गतेसम्म चल्नेछ । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो तथा सान्त्वना हुने टिमले क्रमशः एक लाख ५० हजार, एक लाख, ७५ हजार र २५ हजार रुपैयाँ प्राप्त गर्ने खेल व्यवस्थापक रवीन दाहालले जानकारी दिए ।