परवानीपुर (पर्सा) । वीरगञ्ज महानगरपालिका–१८ सुखचैना र वडा न २१ परवानीपुर क्षेत्रमा खानेपानीमन्त्री प्रदीप यादवले अब जल निकासी प्रणालीमा सुधार हुने बताएका छन् ।
परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलान्यास गर्दैै आइतबार उनले उक्त निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा वर्षातको समयमा हुने जल जमावटको समस्या पूर्णरुपमा समाधान हुने र आवागमनमा समेत सहजता आउने बताए ।
स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिँदै मन्त्री यादवले नागरिकको दैनिक जीवन सहज बनाउन यस्ता आयोजना निकै महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, “खानेपानी तथा ढल निकासको क्षेत्रमा निकै उल्लेख्य काम भएका छन्, नागरिकको दैनिक जीवन सहज बनाउन सरकार पूर्ण प्रतिबद्ध छ ।”
शुद्ध खानेपानी वितरण, नाला तथा ढल निर्माणजस्ता जनताको प्रत्यक्ष जीवनसँग जोडिएका सेवा सुविधालाई प्राथमिकतामा राख्दै मन्त्री यादवले सम्बन्धित निकायलाई ती कार्य समयमै सम्पन्न गर्नसमेत निर्देशन दिए । एक करोड ७२ लाखको लागत शिलान्यास गरिएको उक्त नाला तथा ढलान निर्माण वडानं १८ सुखचैना र वडा नं २१ परवानीपुरसम्म एक हजार २५६ मिटर लम्बाइ रहेको वडा नं २१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारले जानकारी दिए ।