सिँजा (जुम्ला) । जुम्ला गुठिचौर गाउँपालका(२ को झुलेनी भन्ने ठाउँमा शनिबार साँझ रुखमुनि बसेका बेला चट्याङ पर्दा २१ वटा भेडाबाख्रा मरेका छन् ।
गुठिचौर–२ का पूर्व वडास्य तथा स्थानीय धनबहादुर बोहोराले गुठिगाउँका किसान हिरबहादुर ऐडिका १६ र धनकृष्ण रोकायाका ६ वटा भेडाबाख्रा चट्याङमा परि मरेको जानकारी गराए । घरमा ल्याउन रुखमुनि जम्मा गरी राखेको अवस्थामा चट्याङ पर्दा ऐडिका ५० वटा र रोकायाका ३० वटा भेडाबाख्रा मरेका छन् । भेडाबाख्राबाटै उनीहरूको घरखर्च चल्ने गरेको छ ।
गुठिगाउँमा रहेका एक सय ७५ घरधुरीका १ सय बढी परिवारले भेडाबख्रा पाल्ने गरेका छन् । गाउँमा करिब ३ हजार ५ सय जति भेडाबाख्रा रहेको बोहोराले बताए । उनका अनुसार एउटै भेडाबाख्राको मुल्य कम्तिमा १० हजार देखि बढीमा २५ हजारसम्म पर्ने गर्दछ । चट्याङमा परी भेडाबाख्रा मर्दा किसानहरू धेरै दुःखि भएका छन् ।
भेडाबाख्रा चट्याङबाट मरेपछि घर खर्च चलाउनमा समस्या भएको उनीहरूले बताएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ गुठिचौरको पूर्वि क्षेत्र हो । पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रा मरेर किसानलाई ठुलो क्षति हुने गरेको कार्यालयले जनाएको छ ।