लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार लमजुङ सदरमुकाम बेँसीसहरमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले ढिलोमा एक हप्ता भित्रमा राष्ट्र बैँकको गभर्नर नियुक्त गर्ने बताएका छन् ।
मन्त्री गुरुङले नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्तिका लागि बनाइएको सिफारिस समितिले सिफारिस गरेकै दिन सरकारले निर्णय गर्ने बताए । सत्ता गठबन्धनमा कुनै प्रकारको असमझदारी नरहेको प्रष्ट पार्दै मन्त्री गुरुङले वर्तमान सरकार लामो समय जाने निश्चित भएपछि विपक्षीहरू अत्तालिएको बताए ।
पञ्चायतको भण्डाफोर गर्दै बहुदलको मुद्दा उठाउन जनपक्षीय उम्मेदवार उठाएर नै देशमा राजनीतिक परिवर्तन सम्भव भएको उनले बताए । नेकपा (एमाले) लमजुङको नवौं जिल्ला अधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकारलाई स्थायित्व र सवल बनाउन पार्टी बलियो बन्नुपर्ने धारणा राखे ।