काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकहरूलाई मध्यनजर गर्दै यो योजना सार्वजनिक गरेको हो
यस पुनर्जागरण अभियान जेठ एक गतेदेखि २५ गतेसम्म लागू हुनेछ । पुनर्जागरण अभियानअन्तर्गत बीमालेख अवधिभित्र एकपटक मात्र व्याज छुटको सुविधा प्रदान गरिने संस्थाले जनाएको छ । सामान्य अवस्थामा बीमालेख व्यतित रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ ।
संस्थाले सार्वजनिक गरेको पुनर्जागरण अभियानमा भने विलम्ब शुल्कमा छुटको सेवा सुविधा लिई व्यतित बीमालेख नवीकरण गरी मौकाको फाइदा लिन कम्पनीले अनुरोध गरेको छ । हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई बीमित र बीमितसँग आश्रितको आर्थिक पक्ष सबल र सदृढ गर्नको लागि जीवन बीमा अनिवार्य रहेको छ । ग्राहकहरूले संस्थाको देशैभरि रहेका एक सय ६९ शाखा कार्यालयहरूबाट वा अनलाइन भुक्तानीको माध्यमहरूबाट यस योजनामा सहभागी हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।