झापा । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् ।
भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको स्थानीय मेघराज रम्तेलले बताए । उनले भने, “पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, अब दोस्रो वर्ष पनि नबन्दा चाहिँ चिन्ता लागेको छ ।”
बर्खाको बाढी पुलमाथिबाट बग्ने गरेको छ । हिउँदमा सवारी आवागमन हुने उक्त पुल बर्खामा बन्द हुने गरेको छ । पुलको छत भासिएर खोलामा पुगेको कारण अब सो स्थानमा नयाँ पक्की पुल बनाउनु पर्ने स्थानीयवासीको माग छ ।
पुल निर्माणमा बजेट व्यवस्थापनका लागि पालिकाले सङ्घीय सरकारसँग अनुरोध गरेको अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईले बताए । “सभामुख देवराज घिमिरे र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले चासो देखाउनुभएको छ ।” उनले भने, “उहाँहरुले पुलको अवस्था हेर्नु भएको पनि छ र आगामी वर्षको बजेटमा पुल पर्ने आशा गरेका छौं ।”
पुल भासिएर काम नलाग्ने भइसकेको कारण मर्मतसम्भारबाट काम नचल्ने उनको भनाइ छ ।नगरपालिकासँग नयाँ पुल निर्माण गर्न पुग्ने बजेट नभएको जनाउँदै उनले सङ्घीय सरकारकै बाटो कुर्नु बाध्यता भएको बताए ।
भारत सरकारको दुई करोडको सहयोगमा २०६५ सालमा उक्त पुल निर्माण गरिएको थियो । पुल निर्माणसँगै सो सडकमा लामो दूरीका यातायातसमेत चल्न थालेका थिए । चालु आर्थिक वर्षको कार्ययोजनामा सो पुल नपरेको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी विपीन ढुङ्गानाले बताए ।