लमजुङ । मर्स्याङ्दी–९ पामचोकका नेपाली महिला फुटबल टोलीकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारीको सम्मानमा सोमबार एक कार्यक्रमबीच मर्स्याङ्दी गाउँपालिका–९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा चोक’ नामाकरण गरिएको छ ।
साम्बाको तस्बिर राख्दै सोमबबारदेखि यस क्षेत्रलाई साम्बा चोक नामाकरण गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले घोषणा गरे । आफ्नै ठाउँको चेली सावित्रा फुटबल खेलको क्षेत्रबाट पालिका, जिल्ला मात्र नभई नेपाललाई विश्वसामु चिनाउन सफल भएकाले पालिकावासी हर्षित रहेको उनको भनाइ छ । यस्ता कार्यले सावित्रालाई प्रेरणा मिल्ने र फुटबल क्षेत्रमा स्थापित उनलाई सम्मान गर्न साम्बा चोक नामाकरण गरिएको उनले बताए ।
सावित्राजस्तो व्यक्तिका नाममा चोकको नामाकरण हुँदा उनको योगदानको कदर भएको र जिल्लावासीका लागि पनि गौरवको कुरा भएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताए । उनले साम्बाको जीवन अगाडि बढाउन सशस्त्रले पनि केही भूमिका खेलेको जानकारी गराए ।
यस्तै साम्बाको बुबा थमनबहादुर भण्डारीले आफ्नो छोरीको नाममा चोकको नामाकरण हुँदा धेरै खुसी लागेको बताए । फुटबल क्षेत्रमा योगदान गर्दै नेपाललाई नै चिनाउने काम गरिरहेको र यस्ता सम्मान कार्यले छोरीलाई अझै अगाडि बढाउन हौसला मिल्ने उनको भनाइ छ ।
अन्नपूर्ण पदमार्ग मनाङ जाने सडकमा अवस्थित मर्स्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई साम्बा चोक नामाकरण गर्दा उनको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुग्ने सोही वडाका वडाध्यक्ष हरिश्चन्द्र थापाले बताए ।
सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेकी सावित्रा नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित छिन् । लमजुङको तत्कालीन सिम्पानी गाविस–७ हाल मर्स्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किएकी साम्बा हाल अन्तरराष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली महिला फुटबल टोलीकी सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।