काठमाडौं । साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै सोमबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी छिन् ।
नेपालको राष्ट्रिय झन्डा सहित नेपाल प्रहरी तथा लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर आरोही शेर्पाले सगरमाथाको चुचुरोमा फहराएकी हुन् । गत चैत २५ गते प्रहरी महानिरीक्षक दिपक थापाबाट शुभकामनासहित उक्त झन्डा हस्तान्तरण गरी चैत २८ गते असई शेर्पासहितको आरोहण दल काठमाडौंबाट प्रस्थान गरेका थिए ।
विगतमा सगरमाथाको सरसफाई अभियान तथा विभिन्न हिमालहरू नेपाल प्रहरीले सफलतापूर्वक आरोहण गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवम् साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्वास नेपाल प्रहरीले लिएको छ ।