काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनको प्रयोग बढाएर आयातमुखी अर्थतन्त्र नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् । सिमेन्ट उत्पादक संघले सोमबार ललितपुरमा आयोजना गरेको ‘सिमेन्ट कन्क्लेभ’ मा उनले स्वदेशी उत्पादन वृद्धिले अर्थतन्त्रलाई सही दिशामा लैजान र आयातलाई घटाउन सकिने बताए । ‘हामी सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्था छ । अब आफ्नै देशमा उत्पादन भएको सिमेन्ट प्रयोग गरे यसले उत्पादनलाई पनि बढावा दिनेछ’, उनले भने, ‘आयातमुखी अर्थतन्त्रलाई नियन्त्रण गर्न यसले महत्वपूर्ण भूमिका खेल्नेछ । त्यसैले यी पक्षलाई ध्यानमा राखेर काम गरौँ ।’ उनले देशको भू–बनोटअनुसार सिमेन्टको प्रयोगले बाटोहरू गुणस्तरयुक्त हुने भन्दै सुरुमा लगानी धेरै भए पनि लामो समय टिक्ने हुँदा यसको प्रयोगमा जोड दिनुपर्ने बताए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको सहकार्य जरूरी रहेको बताए । उनले निजी क्षेत्रसँग साझेदारी गरी पूर्वाधार विकास गर्न सरकारले पनि अध्ययन गरिरहेको जानकारी दिए । विश्वका कतिपय मुलुकमा निजी क्षेत्रले पूर्वाधारमा लगानी गर्ने र त्यसबाट निश्चित लाभांश समेत लिने अभ्यास रहेको उल्लेख गर्दै मन्त्री दाहालले यस्ता सम्भाव्य क्षेत्रको पहिचान नेपालमा पनि आवश्यक रहेको बताए । नेपालको भौगोलिक विशिष्टता, सिमेन्ट उत्पादनमा गरेको प्रगति र टीकाउपनाका कारण कङ्क्रिट सडक निर्माणलाई अध्ययन गरी प्रवर्द्धन गर्न सकिने उनको भनाइ थियो । हाल देश निर्माणको चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले सुरु भएका आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादन वृद्ध र प्रयोगमा प्रोत्साहनका लागि सरकारले आवश्यक काम गरिरहेको बताए । सिमेन्ट क्षेत्रमा आत्मनिर्भर बन्न निजी क्षेत्रको उपस्थिति प्रशंसायोग्य रहेको भन्दै उनले अरू क्षेत्रमा पनि आन्तरिक उत्पादनमा निजी क्षेत्रको सशक्त भूमिका आवश्यक रहेको बताए । कार्यक्रममा विज्ञहरूले सिमेन्ट ढलान गरिएका सडक प्रारम्भिकरूपमा खर्चिलो भए पनि टीकाउपनाका कारण दीर्घकालीनरूपमा प्रभावकारी हुने बताएका थिए ।