काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी शंकास्पद कारोबार करिब ४९ प्रतिशत बढेको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘वित्तीय जानकारी एकाइको सन् २०२४ का गतिविधिसम्बन्धी प्रतिवेदन’ अनुसार गत वर्ष यस्ता कारोबार तथा गतिविधिबारे झण्डै ४९ प्रतिशत वृद्धि देखिएको छ ।
‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूले एकाइमा सम्प्रेषण गरेका शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको संख्या सन् २०२३ मा छ हजार दुई सय ५५ रहेकोमा सन् २०२४ मा यस्तो संख्या झण्डै ४९ प्रतिशतले बढेर नौ हजार तीन सय चार पुगेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार सन् २०२४ मा जम्मा एक हजार आठ सय ९४ प्रतिवेदन विश्लेषण गरिएकोमा एक हजार ८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने अनुसन्धान निकाय तथा नियामकीय कारबाहीका लागि पठाइएको थियो । यसरी पठाइएका प्रतिवेदनमध्ये आठ सय आठवटा प्रतिवेदनमध्ये भविष्यमा थप जानकारी प्राप्त भएमा राष्ट्र बैंकले पुनः विश्लेषण गर्नेगरी अभिलेखीकरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार नेपाल राष्ट्र बैंकमा सन् २०२३ मा १७ लाख ८३ हजार एक सय ८३ वटा सीमा कारोबारको विवरण पेस गरेकामा गत वर्ष अर्थात् सन् २०२४ मा सो संख्या १९ लाख ७२ हजार आठ सय ५५ पुगेको छ । प्रतिवेदनअनुसार सम्पत्ति शुद्धीकरण निवारण मामलासँग जोडिएका विभिन्न संस्था तथा निकायहरुको संख्या पनि बढेको छ । ‘सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी गर्नुपर्ने रिपोर्टिङ तथा पत्राचारका लागि राष्ट्र बैंकको गोएएमएल प्रणालीमा आबद्ध सूचक संस्थाहरू, कानुन कार्यान्वयन गर्ने र अनुसन्धानकारी निकायहरू र नियामक निकायहरूको जम्मा संख्या सन् २०२३ को अन्त्यमा एक हजार चार सय ९६ रहेकामा सन् २०२४ को अन्त्यमा एक हजार नौ सय पाँच पुगेको प्रतिवेदनमा उल्लेख छ ।