दोलखा । दोस्रो पशुपति चौलागाईं स्मृति कप जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलुङ गाउँपालिकाले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा मेलुङले जिरी नगरपालिकाको टिम रास्वपालाई सोझो सेटमा हराउँदै उपाधि जितेको हो । उपाधिसँगै मेलुङले नगद एक लाख ५० हजार रुपैयाँसहित ट्रफी हात पारेको छ । त्यसैगरी दोस्रो भएको रास्वपा टिम जिरीले नगद एक लाख रुपैयाँ प्राप्त गरेको छ भने तेस्रो बनेको गौरीशंकर गाउँपालिकाले नगद ५० हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने तामाकोशी गाउँपालिकाले नगद २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
पशुपति फाउन्डेसनको आयोजनामा शनिबारदेखि सञ्चालित प्रतियोगितामा जिल्लाका ११ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका विजयी खेलाडीहरूलाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय नेता एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । जिल्लाका बामपन्थी नेता एवं सांसद स्व पशुपति चौलागाईंको चौथो स्मृतिमा बैतेश्वरको मैनापोखरीमा सो प्रतियोगिता आयोजना गरिएको हो । फाउन्डेसनका अध्यक्ष सुमन चौलागाईंको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा दोलखा जिल्लास्थित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू सहभागी थिए ।