ब्रसेल्स । युक्रेन र रुसबीच युद्ध रोक्नका लागि प्रयास भइरहेका बेला युरोपेली संघले मंगलबार रुसविरुद्ध नयाँ प्रतिबन्धहरू लगाउने निर्णय गरेको छ । ब्रसेल्समा बसेको युरोपेली संघका रक्षा तथा परराष्ट्र मन्त्रीहरूको बैठकमा युद्धविरामको पहललाई सघाउन रुसमाथि थप दबाब सिर्जना गर्ने निष्कर्ष निकालिएको हो ।
नयाँ प्रतिबन्धअन्तर्गत झण्डै २०० वटा रुसी तेल ढुवानी गर्ने पानीजहाजलाई प्रतिबन्धको दायरामा ल्याइएको छ । यी पानीजहाजहरूले पश्चिमी देशहरूले लगाएका तेलसम्बन्धी प्रतिबन्ध उल्लंघन गर्दै अन्तर्राष्ट्रिय बजारमा रुसको तेल बिक्री गरिरहेको आरोप छ ।
युरोपेली संघकी परराष्ट्र नीति प्रमुख काया कालासले बैठकपछि भनिन, ‘यदि रुसले विनासर्त युद्धविराममा सहमति जनाएन भने, वाशिङ्टन (अमेरिका)ले पनि त्यसको परिणाम भोग्नुपर्ने हुन सक्छ ।’
उनले रुसी राष्ट्रपति पुटिनले शान्तिप्रति चासो देखाए पनि तिनलाई समर्थन गर्ने पक्षहरूलाई गम्भीर परिणाम भोग्नुपर्ने बताइन् ।
यो १७औँ प्रतिबन्ध चरण अघिल्लो प्रतिबन्धपछि तीन महिनादेखि तयार पारिँदै आएको थियो । हालको युद्धविराम वार्ता ढिलाइसँग यसको प्रत्यक्ष सम्बन्ध नरहे पनि रुसमाथि दबाब दिनका लागि प्रभावकारी उपायका रूपमा लागू गरिएको हो ।