काठमाडौं, साउन २०
कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको सावाँ तथा ब्याज कनेक्ट आईपीएसमार्फत जम्मा गर्नसक्ने व्यवस्था सुरु गरेको छ । कोषको केन्द्रीय कार्यालय पुल्चोकमा सोमबार आयोजित कार्यक्रममा कोषका प्रशासक तुलसी प्रसाद गौतमले उक्त कार्यक्रम सुरु गरेका हुन् । सञ्चयकर्ताहरुले आफ्नो खाता रहेको जुनसुकै बैंकहरुबाट कनेक्ट आईपीएसमार्फत विशेष सापटी तथा अन्य कर्जाको सावाँ तथा ब्याज रकम जम्मा गर्न सक्नेछन् ।
कोषले अनलाइन प्रणालीमार्फत सापटी लिन र तिर्नसक्ने व्यवस्था गरेसँगै कोषका सञ्चयकर्ताले प्रविधिमार्फत कारोबार गर्नसक्ने अवस्था सृजना भएको छ । यसले विश्वमा फैलिरहेको कोभिड–१९ को संक्रमणको महामारीको विषम परिस्थितिमा समेत कोषको सेवा प्रवाह सहज हुने विश्वास लिइएको छ ।
कोषले सुरु गरेको अनलाइन सापटी फिर्ता भुक्तानी प्रणालीमा सञ्चयकर्ताले बैंकमा उपस्थित भएर वा आफू रहेकै स्थानबाट कारोबार गर्नसक्ने व्यवस्था मिलाइएको छ । यसका लागि सञ्चयकर्ताले आफ्नो बैंक खातामा कनेक्ट आईपीएस सुविधा लिएको हुनुपर्ने र कोषको केवाईसी गरेको हुनुपर्नेछ । हाललाई ५ हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म सापटी तिर्न सक्ने गरी कारोबारको सीमा कायम गरिएको छ ।