धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले प्रसव पीडाकी महिला र नवजात शिशुको ज्यान बचाउने प्रहरी जवान चन्द्रिकाकुमारी देउवालाई बुधबार सम्मानसहित पुरस्कृत गरेको छ । अस्थायी प्रहरी पोस्ट खैरानामा कार्यरत प्रहरी जवान देउवाले मङ्गलबार गोदावरी नगरपालिका–१ चैतन्यपुरस्थित गुहेश्वरी टोलको सडकमा प्रसव पीडाले छटपटाइ रहेकी बेवारिसे महिलाको सुरक्षित रूपमा सुत्केरी गराएर महिला र शिशुको ज्यान बचाउने काम गरेकी थिइन् ।
प्रहरी जवान देउवाले प्रहरीलाई खबर आएपछि आफ्नो बच्चालाई खाना खुवाउँदा खुवाउँदै छोडेर महिलाको उद्धारका लागि गएको बताइन् । उनले भनिन, “म पुग्दा महिला बेहोस थिइन । करिब दुई सय जति मान्छे जम्मा भएर हेरिरहेका थिए । मैले महिलाको नाम सोँधे तर बोल्न सक्नु भएन । छटपटाइ रहनु भएको थियो । अनि, दिदी म जसरी पनि तपाईं र तपाईंको बच्चाको ज्यान बचाउँछु भनेर सुत्केरी गराउने कार्यमा लागे ।”
एक घरको आँगनमा स्थानीयको सहयोगमा सुत्केरी गराएको प्रहरी देउवाको भनाइ छ । प्रहरी जवान देउवाले सुत्केरी गराइ सकेपछि बच्चा र आमालाई उपचारका लागि पद्मा अस्पताल भर्ना गरिएको र दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताइन । सुत्केरी महिलाको नाम, ठेगाना केही खुलेको छैन ।
प्रहरी उपरीक्षक बालनरसिंह राणाले राम्रो काम गर्ने सबै प्रहरीलाई पुरस्कृत गर्ने बताए । सुत्केरी गराउने सन्दर्भमा न कुनै तालिम लिएकी न त पर्याप्त ज्ञान भएकी जवान देउवाले उच्च मानवीयता प्रदर्शन गरेर नेपाल प्रहरीको इज्जत बढाउने काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले पुरस्कृत गरेको उपरीक्षक राणाले बताए । उनले प्रहरी जवान देउवाले साहसिक काम गरेको भन्दै प्रशंसा पनि गरे ।