काठमाडौं । बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति व्यवस्थापन पेचिलो बन्दै गएको छ । कर्जा असुलीमा समस्या देखिएपछि बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति लगातार बढ्दै गएको छ ।
अर्थतन्त्र पूर्णरूपमा चलायमान हुन नसक्दाको असर बैंकिङ क्षेत्रको कर्जा असुलिमा परेको बैंकर बताउँछन् । अहिले बैंकिङ क्षेत्रमा निक्षेप बढेर अधिक तरलताको अवस्था रहेको भए पनि कर्जाको माग निकै नै न्यून छ । अर्कोतर्फ विगतमा प्रवाह भएको कर्जाको पनि नियमितरूपमा साँवाब्याज असुली गर्न सकेका छैनन् । कर्जा असुलीको लागि धितो लिलामीको प्रत्रक्रियामा जाँदा धितो बिक्री हुने अवस्था पनि छैन । एउटै धितो लिलामीका लागि आधा दर्जनभन्दा बढी पटक सार्वजनिक सूचना जारी गर्दा पनि लिलाम सकार गर्ने, व्यक्ति, संस्था वा कम्पनी पाउन मुश्किल परेको छ । यो अवस्थामा धितो लिलाम बिक्री हुन नसकेकै आधारमा बैंकहरूले त्यस्तो धितो आफैँले स्वप्रयोजनको लागि वा पछि बिक्री गर्ने गरी गैरबैंकिङ सम्पत्तिको रूपमा सकार गर्ने गरेका छन् ।
पछिल्लो समय बैंकिङ प्रणालीमा गैरबैंकिङ सम्पत्ति निरन्तर बढ्दै गएको छ । यही बीचमा सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत बैंकिङ क्षेत्रमा बढ्दै गएको गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्नको लागि छुट्टै संयन्त्र बनाउने घोषणा गरे पनि बढ्दै गएको गैरबैंकिङ सम्पत्ति व्यवस्थापनको लागि उक्त संयन्त्र प्रभावकारी नहुने तर्कहरू समेत हुन थालेका छन् ।
यहीबीचमा नेपाल राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको बैंकहरूको समग्र निक्षेप कर्जासम्बन्धी प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा सञ्चालनामा रहेका २० वटा वाणिज्य बैंकहरूको मात्र कुल गैरबैंकिङ सम्पत्ति बढेर ३८ अर्ब ४१ करोड १० लाख रुपैयाँ पुगेको छ । यो सम्पत्ति गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ अर्ब ८३ करोड ८० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको यस्तो सम्पत्ति २३ अर्ब ५७ करोड ३० लाख रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंकमा २० करोड ४१ लाख १० हजार रुपैयाँबराबरको गैरबैंकिङ छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त बैंकमा यस्तो सम्पत्ति १८ करोड २५ लाख १० हजार रुपैयाँबराबरको थियो । राष्ट्रि वाणिज्य बैंकमा पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३१ करोड ९९ लाख ५० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त बैंकको यस्तो सम्पत्ति १८ करोड ४७ लाख ९० हजार रुपैयाँ थियो ।
नबिल बैंकमा भने पछिल्लो अवधिमा गैरबैंकिङ सम्पत्ति बढेर तीन अर्ब ७९ करोड ९८ लाख ४० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नबिलको यस्तो सम्पत्ति एक अर्ब ६४ करोड ५६ लाख ४० हजार रुपैयाँ रहेको थियो । पछिल्लो अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा पनि गैरबैंकिङ सम्पत्ति बढेर तीन अर्ब ११ करोड ६१ लाख १० हजार रुपैैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकको यस्तो सम्पत्ति दुई अर्ब ६३ करोड ९२ लाख ७० हजार रुपैयाँ थियो । स्टान्डर्ड चार्टर्ड बैंकमा भने पछिल्लो दुई आर्थिक वर्षमा नै गैरबैंकिङ सम्पत्ति शून्य छ ।
राष्ट्र बैंकका अनुसार हिमालयन, नेपाल एसबिआई र एभरेष्ट बैंकमा भने पछिल्लो अवधिमा गैरबैंकिङ सम्पत्ति बढेर क्रमशः पाँच अर्ब १४ करोड ३५ लाख २० हजार, ८९ करोड २५ लाख ९० हजार र ६१ करोड २७ लाख ३० हजार रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूमा यस्तो सम्पत्ति क्रमशः एक अर्ब २७ करोड ३८ लाख २० हजार, सात करोड ६५ लाख ५० हजार र २८ करोड ५५ लाख ६० हजार रुपैयाँ थियो । एनआईसी एसिया, माछापुच्छ्रे र कुमारी बैंकमा पनि पछिल्लो समय गैरबैंकिङ सम्पत्ति बढेर क्रमशः चार अर्ब ५८ करोड ७५ लाख ३० हजार, ९६ करोड ६९ लाख ४० हजार र दुई अर्ब ४५ करोड ६३ लाख २० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूमा यस्तो सम्पत्ति क्रमशः चार अर्ब नौ करोड ८७ लाख ४० हजार, एक अर्ब ४५ करोड ४० हजार र एक अर्ब ९० करोड ८२ लाख ५० हजार रुपैयाँ थियो ।
लक्ष्मी सनराइज, सिद्धार्थ र कृषि विकास बैंकमा पनि पछिल्लो अवधिमा गैरबैंकिङ सम्पत्ति बढेर क्रमशः एक अर्ब ७१ करोड २४ लाख ५० हजार, ७५ करोड ४२ लाख ५० हजार र एक अर्ब नौ लाख २७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूको यस्तो सम्पत्ति क्रमशः एक अर्ब ३६ करोड पाँच लाख ३० हजार, ६९ करोड ५१ लाख र २५ करोड १८ लाख रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार ग्लोबल आईएमई, सिटिजन्स बैंक इन्टरनेसनल र प्राइम कमर्सियल बैंकमा भने चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा क्रमशः पाँच अर्ब ९८ करोड ८० लाख एक हजार, एक अर्ब तीन करोड १५ लाख ४० हजार र दुई अर्ब ३८ करोड ६३ लाख ९० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूमा यस्तो सम्पत्तिको अनुपात क्रमशः दुई अर्ब ९८ करोड २२ लाख ७० हजार, ४६ करोड २८ लाख १० हजार र दुई अर्ब २२ करोड १० हजार रुपैयाँ रहेको थियो ।
यसैगरी एनएमबी, प्रभु र सानिमा बैंकमा भने पछिल्लो अवधिमा क्रमशः एक अर्ब १४ करोड ४७ लाख ३० हजार, एक अर्ब ३३ करोड ५१ हजार र ८५ करोड ३६ लाख २० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूमा क्रमशः ७८ करोड ४९ लाख, ६६ करोड ७८ लाख २० हजार र ४० करोड १८ लाख २० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थियो ।