काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दृष्टि फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरेको छ । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लामो समयदेखि निरन्तररूपमा मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र उनका बालबालिकाहरूको लागि काम गर्दै आएको सुदूरपश्चिम प्रदेशको धनगढी अवस्थित फाउन्डेसनलाई सहयोग गरिएको हो ।
विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको र करिब ६५ जना महिला र उनका बालबालिकाहरूलाई सहयोग गरिरहेकोे सो संस्थालाई बैंकले करिब दुई महिनासम्मलाई पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको छ ।
संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरूप महिला र उनका बालबालिकाहरूलाई सामग्री हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई सानै भए पनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुसी महसुस भएको कुरा व्यक्त गरे । संस्था तथा त्यहाँ रहेका बालबालिकाहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले यस्ता संस्थाहरूले मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र उनका बालबालिकाहरूको हेरचाहका लागि समाजमा उदाहरण बसाइरहेको कुरा पनि व्यक्त गरे । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्युआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना दुई सय वटा शाखा, एक सय ६८ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईबाट १८ लाख ९१ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।