चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक एक आपसमा ठोक्किँदा सात जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा सात जना घाइते भएका हुन् ।
दुबै ट्रकको अगाडिको भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिएका छन् । उनले ट्रकका चालकलाई च्यापिएको अवस्थामा उद्धार गरिएको बताए । चितवन मेडिकल कलेजमा दुबै चालकको उपचार भइरहेको छ । अन्य यात्रुहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी गर।ए ।
ना ६ ख ९८९७ नम्बरको ट्रकका चालक रौतहट गरुड नगरपालिका ५ बस्ने ३४ वर्षका धनराज कुमार यादव र प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रकका चालक भरतपुर–१२ मुनालचोक बस्ने ३७ वर्षका सन्तोष सुवेदी घाइते भएका हुन् ।
रौतहट बौदीमाई नगरपालिका ७ का जयकान्त राय यादव, सोही ठाउँका हरिशंकर यादव, आकाश यादव, रवि कुमार यादव र अनिल कुमार यादव ०१–००६ ख ६२८७ नम्बरको ट्रकमा सवार घाइते भएका यात्रुहरु हुन् । प्रहरीले उनीहरुको अवस्था सामान्य रहेको जानकारी दिएको छ ।