काठमाडौं : सिन्धु वेलफेयर सोसाइटी अमेरिकाले सिन्धुपाल्चोकका असहाय तथा गरीब विद्यार्थीलाई निशुल्क अध्ययनको व्यवस्था गरिरहेको छ । सोसाइटीले आवासीयरूपमा निजी विद्यालयमा २४ जना विद्यार्थीहरुलाई निशुल्क पढ्ने व्यवस्था गरेको हो । निशुल्क पढ्ने व्यवस्था गरेका विद्यार्थीहरुलाई बिभिन्न दाताले सहयोग गरेर पढ्ने वातावरण सोसाइटीले गरेको हो । विद्यार्थीलाई आवश्यक पर्ने जुत्ता व्यवस्थापन गर्दै आएको ब्याक हर्ष सुजले यस पटक पनि जुत्ता वितरण गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे र मेलम्चीमा रहेको निजी विद्यालयमा आवासीयरूपमा रहेका विद्यार्थीलाई ब्याक हर्ष सुजको तर्फबाट उपलब्ध भएको जुत्ताहरू उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य बेदबहादुर श्रेष्ठले बितरण गरे । संस्थाको सहयोगमा अध्ययन गरिरहेका विद्यार्थीलाई १२ कक्षासम्म अध्ययन गराउने संस्थाको नियम रहेको छ । अहिले २७ जना विद्यार्थीलाई संस्थाको समन्वयमा अध्ययनको व्यवस्था भइरहेको छ । जस अनुसार सिन्धुपाल्चोकको बाह्रबिसेमा रहेको चण्डेश्वरी बोर्डिङ स्कुलमा १४ जना, मेलम्चीमा रहेको प्रगति स्कुलमा १२ जना र काठमाडौंको माउण्ट कैलाश स्कुलमा एक जना विद्यार्थी रहेका छन् । संस्थाले मुख्यतः जेहेन्दार, अशक्त असहाय विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेको छ ।