काठमाडौं । विकास बैंकहरूमा २८ अर्ब ९९ करोड ३२ लाख ३१ हजार छ सय रुपैयाँ खराब कर्जा (निष्क्रिय कर्जा) देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आव (आर्थिक वर्ष)को चैत मसान्तसम्म सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले कुल पाँच खर्ब २१ अर्ब ४६ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा पाँच दशमलव ५६ प्रतिशत (झण्डै २९ अर्ब रुपैयाँ) खराब कर्जा देखिएको हो ।
यो निष्क्रिय कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमलव ९३ प्रतिशत अर्थात् १० अर्ब ८८ करोड ६९ लाख पाँच सय रुपैयाँ बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले कुल चार खर्ब ९८ अर्ब ७९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा तीन दशमलव ६३ प्रतिशत अर्थात् १८ अर्ब १० करोड ६३ लाख ३१ हजार एक सय रुपैयाँ निष्क्रिय कर्जा देखिएको थियो ।
यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा पनि सबैजसो विकास बैंकहरूको निष्क्रिय कर्जा बढेको देखिन्छ । वित्तीय विवरणअनुसार नारायणी डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा सबैभन्दा बढी देखिएको छ भने सबैभन्दा कम मितेरी डेभलपमेन्ट बैंकको छ । नारायणी विकास बैंकमा ४४ दशमलव ९६ प्रतिशत निष्क्रिय कर्जा छ भने मितेरीमा शून्य दशमलव ७८ प्रतिशत छ । गत आवको सोही अवधिमा नारायणीको निष्क्रिय कर्जा ३१ दशमलव ७७ प्रतिशत र मितेरिको दुई दशमलव ६३ प्रतिशत थियो ।
यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा १३ दशमलव शून्य नौ प्रतिशत र सप्तकोशी डेभलपेन्ट बैंकको १२ दशमलव ९१ प्रतिशत छ । गत आवको सोही अवधिमा कर्पोरेट डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा चार दशमलव ९५ प्रतिशत र सप्तकोशीको १२ दशमलव ४० प्रतिशत थियो ।
सिन्धु विकास बैंक, लुम्बिनी विकास बैंक र महालक्ष्मी विकास बैंकको निष्क्रिय कर्जा गत चैत मसान्तसम्म क्रमशः आठ दशमलव ६४ प्रतिशत, सात दशमलव १८ प्रतिशत र चार दशमलव ९९ प्रतिशत छ । गत आवको सोही अवधिमा यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः तीन दशमलव ६५ प्रतिशत, तीन दशमलव ६९ प्रतिशत र चार दशमलव १६ प्रतिशत थियो ।
सांग्रिला डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र गरिमा विकास बैंकको निष्क्रिय कर्जा गत चैत मसान्तसम्म क्रमशः चार दशमलव ९७ प्रतिशत, चार दशमलव ८७ प्रतिशत र चार दशमलव ७८ प्रतिशत छ । गत आवको सोही अवधिमा यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः तीन दशमलव ८४ प्रतिशत, पाँच दशमलव ८६ प्रतिशत र दुई दशमलव ९७ प्रतिशत थियो ।
मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक र ज्योति विकास बैंकको निष्क्रिय कर्जा गत चैत मसान्तसम्म क्रमशः चार दशमलव ४१ प्रतिशत, चार दशमलव २७ प्रतिशत र एक दशमलव ३७ प्रतिशत छ । गत आवको सोही अवधिमा यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः दुई दशमलव शून्य दुई प्रतिशत, तीन दशमलव ५३ प्रतिशत र एक दशमलव ६६ प्रतिशत थियो ।