विराटनगर । युवाहरूलाई स्वदेशका उद्योग व्यवसायमा आकर्षित गर्नका लागि उद्योग संगठन मोरङले विराटनगरमा दुई दिने सिप उत्सव २०८२ को आयोजना गर्ने भएको छ । उद्योग संगठन मोरङ, इन्स्योर हेल्भेटास र कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले संयुक्तरूपमा जेठ १० र ११ गते सो उत्सव आयोजना गर्न लागेको हो । उत्सवमा अन्तर शिक्षालय सिप प्रतिस्पर्धा, लाइभ तालिम, वृत्ति परामर्श, सिप प्रतिस्पर्धालगायतका कार्यक्रम हुने उद्योग संगठन मोरङले पत्रकार सम्मलन गरी जानकारी दिएको छ । उत्सवको माध्यमबाट तालिम प्रदायक उद्योग प्रतिष्ठानहरू, सरकारका सरोकारवालाहरू पक्षहरू र प्रशिक्षार्थीबीचको समन्वय थप प्रगाढ बनाउने र आगामी दिनमा उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन, उत्पादित जनशक्तिलाई रोजगारका अवसरमा सुनिश्चितता गर्ने अपेक्षा राखिएको संगठनका अध्यक्ष राकेश सुरानाको भनाइ छ ।
रोजगार प्रदायक एवं तालिम प्रदायक र रोजगारको खोजीमा रहेका जनशक्तिलाई एकै स्थानमा भेला गरी सिप विकासको विविध आयामहरूको बारेमा जानकारी गराउने मुख्य उद्देश्य रहेको छ । त्यस्तै, प्राविधिक शिक्षा, सिप तालिमको महत्ववारे सूचना प्रवाह गरी आकर्षण वृद्धि गराउने, बाहिरी प्राविधिक जनशक्तिमाथिको निर्भरता कम गरी स्वदेशमै दक्ष प्राविधिक जनशक्ति उपलव्ध रहेको सन्देश प्रवाह गर्ने उत्सव उद्देश्य रहेको अध्यक्ष सुरानाले जानकारी दिए ।