काठमाडौं । विश्वका विभिन्न देशहरू घुम्ने क्रममा मलाई क्यानडाको भ्रमण गर्ने अवसर मिल्यो । जापान हुँदै क्यानडा जाँदा मनमा अनेकौँ तरङ्गहरू आए । मेरो देश पनि यस्तै विकास भएको भए कस्तो हुन्थ्यो होला भन्ने प्रश्न मनमा उब्जियो । आर्थिक विकासमा त पछि परेकै छ, तर सामाजिकरूपमा पनि अलिकति पछाडि परेको हो कि भन्ने भावनाले मन भरियो । हामी २१औँ शताब्दीमा पुगेका छौँ तर हाम्रा मानवीय विकासका पक्षहरू अझै अधुरा छन् । आजको दिनसम्म पनि हामी बाटोमै फोहोर गर्न छोडेका छैनौँ, अरूको मतलब नगरी आफ्नै हित हुने काम मात्र गर्न हिँडेका छैनौँ, सार्वजनिक स्थानमा होहल्ला गर्न छोडेका छैनौँ, सबैलाई राजनीतिक चासो छ, केही नजानेको छैन तर जानेजस्तो देखिने पनि होइन ।
सडकमा हेर्दा आजसम्म पनि अनुशासन छैन, हर्न बजाउन छाडेका छैनौँ, समयमा काम गर्ने कोसिस हामी गर्दैनौँ । समयको ख्याल छैन, सार्वजनिक यातायातको समय पनि अत्यन्तै अव्यवस्थित छ, सार्वजनिक स्थानमा सभ्य भाषा प्रयोग गर्दैनौँ, जहाँ पनि धक्का–मुक्का गर्छौँ । बाहिर हिँड्दा पनि अरूलाई पन्छाएर हिँड्छौँ, बीच बाटो र गल्लीमा मानिसको ख्याल नगरी सवारी साधन हुइँक्याउँछौँ । हामी धर्मकर्ममा विश्वास गर्छौं तर अरूको चासो बढी लिन्छौँ । मन्दिरमा धक्का–मुक्का, सडकमा हैरानी, जथाभावी बाटो काट्ने, सोचविचार नगरी र दीर्घकालीनरूपमा हुनुपर्ने विकासको खाका नबनाई गरिएका कार्यहरूले हामीलाई दिनप्रतिदिन तल धकेलिरहेको छ । साथै, राज्यले जनतालाई गर्नुपर्ने व्यवहार र जनताको देशप्रतिको कर्तव्यनिष्ठताको अभावले हामी झन् पछि परेका छौँ । बचपनमा लाग्थ्यो—अलिकति ठूलो भवन छ, थोरै चौडा बाटो छ भने त्यो सहर हो । तर आज संसार यति विकसित भएको देख्दा, हामी अझै कति पछि छौँ भन्ने भावनाले मन दुखाउँछ ।
देश विकास हुन पूर्वाधारको विकास हुनु आवश्यक रहेछ । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारी, बिजुली, खेल मैदान, यातायात, स्वस्थ खानेकुरा, पार्कहरूका साथै दिमागमा पनि चेतना आउनुपर्छ । ‘यो ठाउँ मेरो मात्र होइन, यो धर्ती, यो आकाश, यो हावा, यो पानी सबैको साझा सम्पत्ति हो, त्यसैले यसको मैले उचितरूपमा प्रयोग गर्नुपर्छ । यसको विनाश भनेको आउने पुस्ताका लागि हानिकारक हुन्छ’ भन्ने सोच राखेर आफू बसेको ठाउँको उचित व्यवस्थापन र विकास गर्नु आजको मानवको कर्तव्य हो । समाजलाई हरेक दिन सभ्य बनाउनु र विकासको बाटोमा लैजानु हाम्रो दायित्व हो । विकास गर्न सकिएन होला तर विनाश गर्नुहुँदैन । हो, हामीसँग पैसाको कमी होला तर संस्कार बिगार्नु हुँदैन । हामी सबैमा किताबी ज्ञानको कमी होला तर समाजलाई दूषित बनाउने ज्ञान हुनुहुँदैन ।
यस्तै, यावत् कुराहरूको कमीले गर्दा धेरै मानिस यसबाट पछि लाग्न, यसको विकासको उपयोग गर्न, थाहा भएको सुविधालाई लिन र आउने सन्ततिको लागि सुख हुन्छ भन्ने मानसिकताले गर्दा विदेशिने गर्छन् । देश राम्रो भएको खण्डमा धेरै मानिसहरूलाई देशमै केही गर्न इच्छा हुन्छ । सबै कुरा सिस्टममा चल्ने चाहना हुन्छ मानिसलाई त्यसैले हाम्रो देशमा हरेक कुराको प्रणाली राम्रो भएको खण्डमा लाखौँ युवाको सिपलाई देशमै उतार्न सकिन्छ । ठूला उद्योगका लागि लगानी भित्र्याउन सकिन्थ्यो ।
बरु विकास ढिलो होला तर नागरिकलाई चाहिने सेवा र सुविधा चुस्त–दुरुस्त, समयमा उपलब्ध हुनुपर्छ । पढ्न चाहनेलाई देशमा पढ्ने व्यवस्था उचित ढंगले हुनुपर्छ । शिक्षामा लगानी भएर रोजगारीको सिर्जना गर्नु राज्यको दायित्व हो । नयाँ–नयाँ लगानी बढाउने, देशमै रोजगारीको सिर्जना गर्ने गरेमा विदेशमा गर्ने मेहनत देशमै गराउन सकिन्छ र आर्थिक उन्नतिको दिशामा लैजान सकिन्छ । होनाहार युवा विदेश जानु भनेको देशको लागि घातक हुन्छ । नेपालमा केही नगर्ने मानिस विदेशमा परे हतारिएर काम गर्न सक्छ । हो, त्यस्तै वातावरण हामीले देशमा सिर्जना गर्न सक्नु आजको चुनौती हो ।
त्यहीअनुरूप मैले क्यानडामा देखेको भनेको—आजको विश्वमा एक विकसित, समृद्ध र समावेशी देशको रूपमा पाएको हुँ । धेरैथरिका मानिस बस्ने यो देशले शिक्षा, स्वास्थ्य, प्रविधि, मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ, जसले गर्दा संसारभरिका विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । विशेषगरी पछिल्ला दशकहरूमा नेपाली विद्यार्थीहरूको ध्यान पनि क्यानडातर्फ बढी तानिएको देखिएको छ । यसको मूल कारण भनेको यहाँको शिक्षाको गुणस्तर, रमाइला मानिसहरू, बसोबासको सहजता, वैध रोजगारका अवसरहरू र दीर्घकालीन भविष्यको सम्भावना नै हो जस्तो लाग्यो ।
क्यानडाको विकासका मुख्य आधारहरूमा पारदर्शी शासन प्रणाली, शिक्षा, स्वास्थ्य, रोजगारी र यहाँ विविधतामा आधारित एकता रहेको समाज यसको विशेषता हो । यहाँको सरकारले शिक्षा प्रणालीलाई अत्यन्त प्राथमिकता दिएको छ । विश्वविद्यालयहरू विश्वका उत्कृष्ट संस्थाहरूको सूचीमा पर्छन् । अध्ययन र अनुसन्धानका लागि पर्याप्त स्रोत उपलब्ध छन । अपाङ्गमैत्री वातावरण छ । वर्षौं पुराना विश्वविद्यालय छन् तर सबै व्यवस्थित छन् । त्यसमाथि अन्तर्राष्ट्रिय विद्यार्थीहरूप्रति यहाँको सरकारले देखाएको सहानुभूतिपूर्ण नीति र सबैलाई पढ्न सक्ने वातावरणले गर्दा यहाँ पढ्न आउने विद्यार्थीहरू सहजै घुलमिल हुन सक्छन् । विद्यार्थीलाई चाहिने सुविधा सबै शैक्षिक संस्थामा उपलब्ध छ, विद्यार्थीमैत्री यातायात, विद्यार्थीलाई यातायातमा सहुलियत कार्डको व्यवस्था, पुस्तकालय, अध्ययनमैत्री वातावरण, अनुसन्धानयुक्त कोर्स मोडेलले गर्दा विद्यार्थीले पढ्न सहज महसुस गर्छन् ।
त्यसैले नेपाली विद्यार्थीहरूका लागि पनि क्यानडा अवसरको भूमि बनेको छ । नेपालजस्तो विकासोन्मुख देशबाट आएका विद्यार्थीहरू यहाँ गुणस्तरीय शिक्षा प्राप्त गर्दै, अन्तर्राष्ट्रिय अनुभव बटुल्दै, आफूलाई विश्वस्तरको प्रतिस्पर्धामा तयार पार्न सक्छन् । क्यानडाले प्रदान गर्ने पढाइपछिको कामको सुविधा र पढ्दापढ्दै पनि काम गर्न पाउनेजस्ता नीतिहरूले पढुन्जेल र पढाइपछि पनि काम गर्ने अवसर दिन्छन्, जसले विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्न मद्दत गर्छ । यही आशामा नेपाली विद्यार्थीहरू क्यानडा आउँछन्—पढ्दै काम गरी गुजारा चलाउने आशा सबैको हुन्छ । तर, क्यानडाको विकास र नेपाली विद्यार्थीको सम्बन्ध केवल व्यक्तिगत फाइदासम्म सीमित हुनु हुँदैन । त्यहाँ पढेर, काम गरेर, अनुभव बटुलेर नेपाली विद्यार्थीहरूले नेपाल फर्किएर देशको सेवामा लाग्न सकेमा देश विकासमा उल्लेखनीय योगदान पुग्न सक्छ । आजको युग प्रविधिको युग हो । त्यसको लागि देश विकासका अवधारणाहरू, प्रशासनिक दक्षता, आधुनिक सोच र प्रविधिको ज्ञान नेपालमा प्रयोग गर्न सकिएमा विदेशमा बसेका उनीहरूको सिपलाई देशमै उतार्न सकिन्छ । साथै, उनीहरूले काम गरेर नेपालमा उद्योग गर्ने वातावरण बनाउन सके पनि उनीहरूले रेमिट्यान्स, ज्ञान र प्रविधिलाई नेपाल भित्र्याएर नेपालको विकासमा योगदान दिन सक्छन् ।
जति नै भने पनि विदेशमा एकै पटक ठूलो सपना भने देख्नुहुँदैन । पहिला जानेहरूकै सेटलमेन्ट देखेर बुझ्दै नबुझी विदेशको यात्रा तय गर्नुहुँदैन । त्यहाँको वस्तुस्थिति बुझेर, कलेजको फि हेरेर, मौसमको जानकारी, पढाइपछि आउने अवसरका साथै पढ्न सकिन्छ कि सकिँदैन भन्ने सबै विचार गरेर मात्र जाने निर्णय गर्नुपर्छ । नत्र धेरै मानिस घर न घाटको समेत भएका भेटिन्छन् । लहैलहैमा लागेर भने विदेश यात्रा तय गर्नु मूर्खता हो । त्यसैले क्यानडा मात्र होइन, जहाँ जानु परे पनि अत्यन्त अध्ययन, अनुसन्धान विद्यार्थी आफैँले गरेर, भविष्य बनाउन सकिन्छ भने मात्र निर्णय लिनुपर्छ । जुनसुकै देश जानुपर्दा पनि पहिले त्यो देशको भाषाको राम्रो ज्ञान हुनुपर्छ, आफू दक्ष हुनुपर्छ, अनि मानिस एकदम जाँगरिलो हुनुपर्छ, समयको ख्याल गर्ने, सरसफाइमा ध्यान दिने, काम गर्दा अरूलाई रिझाउन सक्ने व्यवहार गर्ने, अनि पढ्न बस्न र खान पुग्ने पैसाको जोहो गर्न सकिन्छ भने मात्र विदेशको यात्रा तय गर्नुपर्छ ।
नयाँ देशको संस्कृति, मौसम, भाषा र प्रणालीमा अभ्यस्त हुन समय लाग्छ । त्यसका लागि मेहनत गर्ने, आर्थिकरूपमा पनि केही समयसम्म संघर्ष गर्ने, सही तयारी र दृढ इच्छाशक्ति राखी सहनशील भई काम गर्ने विद्यार्थीले भने सबै चुनौतीहरू पार गर्न सक्छन् र आफूलाई गर्न सक्ने योग्य बनाउनेछन् । यही अनुरूप क्यानडामा पनि कतिपय नेपालीहरू एकदम राम्रो पोजिसनमा काम गरिरहेका सम्मानित काम गरिरहेका, राम्रो व्यापार गरी देशकै नाम उचो राखेका पनि पाइयो । यस्ता होनाहार मानिसले कमाएको ज्ञान र सिपलाई राज्यले चिनेका खण्डमा उनीहरूको आर्थिकदेखि बौद्धिक ज्ञानलाई देशमै उतार्ने प्रयास गर्नुपर्ने बेला आएको छ ।
अन्त्यमा, क्यानडा विकासको उत्कृष्ट नमुना हो । विनाचालकको रेल, अन्डरग्राउन्ड ट्रेन, राम्रो बाटोघाटा, व्यवस्थित जीवनशैली, नम्र जनता, सहज र गुणस्तरीय शिक्षा, स्वास्थ्य बीमा र उत्कृष्ट स्वास्थ्य सेवा, विविधता, समान अवसर र मानव कल्याण, सफा वातावरण, खानेपानीको राम्रो व्यवस्था, पार्क, सार्वजनिक शौचालय, गगनचुम्बी भवन, बच्चाले पाउने सुविधा, अन्तर्राष्ट्रिय व्यापार, कृषि विकास र जनतालाई दिइएको सेवा–सुविधाले मन लोभ्याउँछ ।
त्यसैले नेपाली विद्यार्थीहरूले त्यसबाट आफूलाई चाहिने लाभ उठाउनुका साथै आफू र आफ्नो मातृभूमिका लागि सक्दो योगदान गर्न सक्छन् । यस्तो अन्तर्राष्ट्रिय अनुभवले केवल व्यक्तिगत जीवन मात्र होइन, राष्ट्रको समग्र विकासमा पनि सकारात्मक प्रभाव पार्न सक्छ, जसले गर्दा नेपालमा पनि सिप र विकासमा योगदान यिनै विद्यार्थी योग्य भएपछि दिन सक्छन् र कमाएको पैसाले समेत रेमिट्यान्स भित्र्याउन सके देश विकासमा ठूलो योगदान पुग्ने देखिन्छ ।