काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा चेत प्रसाद उप्रेती नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक समेत रहेका उप्रेतीले औपचारिक कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्रसँग अध्यक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । यसअघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा रहेका थिए ।
उप्रेतीको केन्द्रीय बैंकको विभिन्न विभागमा २७ वर्षभन्दा बढी काम गरेको अनुभव रहेको छ भने उनी त्रिभुवन विश्वविद्यालयबाट एमबीए डिग्री होल्डर हुन् । हाल उनी राष्ट्र बैंकको गैरबैंक वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशकका रूपमा आबद्ध छन् ।
नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरू स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।