विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले राजीनामा गरी भिजिट भिसा प्रकरणमा छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
भिजिट भिसामार्फत् हुने मानव तस्करीमा संलग्नता रहेको भन्दै सरकारी निकायमा उजुरी परेसँगै गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न उनले सुझाव दिएका हुन् । भिजिट भिसामार्फत हुने मानव तस्करीमा मुछिएका मन्त्री लेखकलाई बर्खास्तीको माग गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालमा उजुरी परेको छ भने सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता युवराज सफलले लेखकविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका हुन् । भिजिट भिसाको सेटिङमा प्रत्यक्षरूपमा उनको सचिवालय मुछिएको र यसमा मन्त्री लेखकको मिलेमतो रहेकाले उनलाई बर्खास्त गर्न भन्दै उजुरी गरिएको हो ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले भ्रष्टाचारको विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बताएका हुन् । उनले विगतमा समेत भ्रष्टाचारको विषयमा उठेका केही मन्त्रीहरूले राजीनामा दिएर अनुसन्धानमा सहयोग गरेको उल्लेख गर्दै राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री लेखकलाई सुझाव दिएका हुन् । नेता कोइरालाले अध्यागमनको भिजिट भिसा प्रकरणमा संलग्नता भएको विषय उठिसकेपछि आफूलाई सही साबित गर्न पनि छानबिन हुन जरुरी रहेको बताए ।
‘यो घटना नौलो कुरा होइन । यदि त्यसो हो भने मोरल ग्राउन्डमा पनि उहाँले ‘ल म छोडिदिन्छु, छानबिन गर’ भने हुन्छ । सामान्य कुरा हो यो त । राजनीतिमा नैतिकता भन्ने कुरा पनि त हुन्छ नि । उक्त विषय आएको छ, उहाँको संलग्नता नहोला तर उक्त विषय आइसकेपछि आफू क्लिन छु भनेर देखाउनका लागि पनि छानबिन हुनु जरुरी छ , ’उनले भने, ‘रमेशजीको कुरा उठेपछि नैतिकताको आधार राजीनामा दिएर छानबिन गर्नुस् तपाईँहरू भने भइहाल्यो नि, गृह मन्त्रालय त उहाँकै अन्डरमा छ नि त । उहाँले नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरेँ । छानबिन समिति बनाउनुस् गर्नुहोस् भने भइहाल्यो नि । त्यसले मोरल स्ट्याटस देखिन्छ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा पठाएकाबाट रकम असुली प्रकरणमा गृह मन्त्रालय जोडिएको छ । यही विषयमा गृहका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएर छानबिन गरेको छ । मन्त्री पदमा बस्दा लेखकले छानबिन प्रभावित गर्न सक्ने तथा प्रमाण लुकाउन सक्ने भएकाले बर्खास्तीको माग गरी सर्वोच्च अदालतमा मधु चौलागाईंले रिट पेस गरेका छन् । सो रिट दर्ताबारे आइतबार निर्णय हुने सर्वोच्च प्रशासनले जनाएको छ ।