दोलखा । वैतेश्वर गाउँपालिकाभित्र हालसम्म २० किलोमिटर ग्रामीण सडक कालोपत्रे तथा ढलान सम्पन्न भएका छन् । पालिकाले आफ्नै लगानी तथा प्रदेश सरकारसँगको समपूरक अनुदानमार्फत उक्त सडक कालोपत्रे गरेको हो ।
पालिकाले प्रत्येक वर्ष पालिकाभित्रका मुख्य ग्रामीण सडकहरूको एक÷एक किलोमिटर सडक कालोपत्रे तथा ढलान गर्ने अभियान सञ्चालन गरिरहेको छ । सोही अभियानअनुसार पछिल्लो आठ वर्षमा २० किलोमिटर सडक कालोपत्रे तथा ढलान भएको हो । यस्तै, चालू आर्थिक वर्षमा पनि पालिकाले थप दुई किलोमिटर सडक कालोपत्रे तथा ढलान गर्ने जनाएको थियो । जसअन्र्तगत वडा नम्बर–१ को मुख्य ग्रामीण सडक गोपी–जोरमाने सडक खण्डमा थप एक किलोमिटर सडक ढलान गरिसकेको छ भने वडा नम्बर–२ र ३ को मुख्य सडक बुस्ती पुतलीकाठ– मिर्गे खण्डको थप एक किलोमिटर सडक ढलान गर्ने तयारी गरेको छ ।
गोपी–जोरमाने सडक खण्डमा पालिकाले सडक पूर्वाधार विकासअन्तर्गतको दुई करोड समपूरक अनुदानमार्फत ढलान निर्माण गरेको गाउँपालिका प्राविधिक प्रमुख ईवि स्वास घिमिरेले जानकारी दिए । सडक निर्माणका लागि जयगोरख दुर्गे निर्माण सेवाले ठेक्का लिएको थियो । सो सडकमा उक्त निर्माण सेवाले अन्य सडक संरचना ग्यावेन वाल र मेसिनरी वाल पनि निर्माण गरेको जनाएको छ । पालिकाले वार्षिक बजेटमार्फत पाँच वर्षको अवधिमा गोपी जोरमाने सडक खण्डमा हालसम्म करिब सात किलोमिटर ढलान तथा कालोपत्रे गरिसकेको छ ।
बुस्ती पुतलीकाठ–मिर्गे सडक खण्ड ढलानको जिम्मा पनि जयगोरख दुर्गे निर्माण सेवाले नै पाएको छ । सो सडकखण्डको थुम्कीभीर क्षेत्रमा ढलान गर्न लागिएको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीले ग्यावेयन, मेसिनरी र नालाको काम सकेर ढलान सुरु गर्न लागेको जनाएको छ । मौसमले साथ दिए एक साताभित्र ढलान सक्ने जनाइएको छ । गाउँपालिकाले उक्त सडक बागमती प्रदेश सरकार र पालिकाको ५०/५० प्रतिशत समपूरक अनुदानमा ढलान गर्न लागेको हो ।
यसैगरी पालिकाले चालु वर्ष वितरण गरेका योजना तथा कार्यक्रम पनि धमाधम निर्माण सम्पन्न भइरहेको जनाएको छ । पालिकाले वितरण गरेका दुई सय १८ योजनामध्ये ९५ प्रतिशत योजनाको काम सम्पन्न भएको वैतेश्वरका योजना शाखा प्रमुख वासुदेव दाहालले जानकारी दिए । ग्रामीण सडकलाई पहिलो प्राथमिकतामा राखेर पहिलो चरणमा साघुँरा सडकहरूलाई फराकिलो बनाउँदै वर्षभर नै सवारी साधन चल्न सक्ने सडक निर्माण योजना बनाएको गाउँपालिकाका अध्यक्ष छवी लामाले जानकारी दिए । उनले आठ वर्षमा तीन सय ४५ किलोमिटर सडक विस्तार गर्दै सडकको गुणस्तर वृद्धिमा जोड दिएको बताए । पालिकाका आठवटै वडामा पक्की सडकको पहुँच पुर्याइएको उनको भनाइ छ । एक वडा, एक पक्की सडक अभियानअन्तर्गत पालिका केन्द्रलाई जोड्ने उद्देश्यले काम भइरहेको जनाएको छ ।
सडकसँगै पालिकाले २७ किलोमिटर पक्की गोरेटो बाटो पनि निर्माण गरेको छ । जनताको सुरक्षित पद यात्राको लागि दुई सय ३५ वटा स्तरीय गोरेटो बाटाहरू निर्माण गरिएको अध्यक्ष लामाले बताए । गोरेटो बाटो निर्माण हुन नसकेका बाँकी गाउँटोलमा पनि आगामी वर्षहरूमा निर्माण हुने पालिकाले जनाएको छ ।